धारा नेपालगन्ज म्याराथनको अर्लीबर्ड दर्तामा २० प्रतिशत छुुट

टुरिनमफेस
नेपालगन्ज । आउँदो मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको ११औं संस्करणका लागि दर्ता खुल्ला गरिएको छ । असोज मसान्तसम्मका लागि अर्लीबर्ड दर्ता अन्तर्गत हरेक दर्ता शुल्कमा २० प्रतिशत छुट दिइएको आयोजकले जनाएको छ ।
यसवर्ष म्याराथन ४२.१९५ किमी पुरुष खुल्ला, हाफ म्याराथन २१.०९७ किमी पुरुष तथा महिला खुल्ला, १० किमी पुरुष तथा महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्लास्तरीय), ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा (बाँके जिल्ला बाहिरका), ५ किमी कर्पोरेट रन, ३ किमी किड्स रन (८ देखि १२ बर्ष उमेर समुह), ३ किमी अभिभावक फन रन (सबै पेशा एवं व्यवसायका दौड्न मिल्ने), ३ किमी ह्वीलचेयर रन समावेश गरिएको छ ।
वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यताप्राप्त नेपालको सहज रुट मानिने धारा नेपालगन्ज म्याराथन, हाफ म्याराथन र १० किमीतर्फ शीर्ष दश जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी ५ किमीमा शीर्ष पाँच जनालाई र ३ किमीतर्फ शीर्ष तीन जनालाई नगदसहित पदक, प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसवर्ष आयोजकले नगद पुरस्कारभन्दा पनि अन्तर्राष्ट्रिय एक्सपोजरमा बढ्ता ध्यान दिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए ।
यसवर्ष नयाँ विधाका रुपमा पुरुषतर्फ हाफ म्याराथन थप गरिएको छ भने वाकाथनको ठाउँमा ३ किमी फन रन समावेश गरिएको छ । धारा नेपालगन्ज म्याराथनमा अफिसियल दुरीका विजेतालाई उनीहरूको प्रदर्शनका आधारमा विभिन्न देशमा हुने रनिङ इभेन्टमा सहभागी गराउने तयारी भइरहेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।