छठको दोस्रो दिन : यसरी गरिदै छ ‘खरना’ विधि
टुरिजमफेस
महोत्तरी । छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् ।
शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने यहाँ परम्परा रही आएको छ ।
दिनभरिको निराहार उपवास गरेका बर्तालुले कूलदेवता र छठी देवीलाई चढाएको खिर प्रसादस्वरुप खाने चलन छ । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ । मधेसको महोत्तरीसहितका विभिन्न जिल्लामा छठ लोकआस्थाको महापर्व मानिँदै आइएको छ ।
छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिन बर्तालुले आत्मशुद्धिका लागि उसिना चामल, लसुन÷प्याज, कोदो, मुसुरोसहितका धार्मिक अनुष्ठानमा अशुद्ध मानिने खाद्यपरिकार खादैनन् । मैथिली बोलीचालीमा अर्बा (नउसिनिएको अन्न) खाइने यो विधिलाई ‘अर्बा–अर्बाइन’ पनि भनिन्छ । ‘नहाय–खाय’ र ‘अर्बा–अर्बाइन’ एकअर्कासँग जोडिएका एकै दिनका विधि हुन् ।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र चामलको खिर पकाई केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभरि उपवास गर्ने बर्तालुले आज सूर्यास्तपछि चन्द्रदर्शनपछि यो विधि सम्पन्न गर्नेछन् ।
