गणेशा कार्कीको निबन्धसङ्ग्रह ‘क्यानभास जिन्दगी’
‘क्यानभास जिन्दगी’ को लोकापर्ण गरिँदै । तस्विर टुरिजमफेस
टुरिजमफेस
काठमाडौं । साहित्यकार गणेशा कार्कीले नयाँ कृति ल्याएकी छन् । समाजमा व्याप्त विभिन्न प्रवृत्ति तथा उतारचढाव र आफ्ना अनुभव समेतको आधारमा कार्कीले तयार पारेको ‘क्यानभास जिन्दगी’ को काठमाडौंमा लोकार्पण गरियो ।
रुकुमेली वाङ्मय अधिष्ठानको तेस्रो साधारण सभाको अवसरमा उक्त कृतिको लोकार्पण गरिएको हो । लोकार्पण समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, साहित्यकार पूर्ण ओलीलगायतले पुस्तकको समालोचना गर्दै समग्र नेपाली साहित्यको बारेमा चर्चा गरेका थिए । पुस्तकको समालोचना गर्दै साहित्यकार ओलीले ‘क्यानभास जिन्दगी’ मौलिक लेखनमा आधारित एक उत्कृष्ट कृति भएको बताए ।
लोकार्पण समारोहमा सहभागी रुकुमलगायत विभिन्न जिल्लाका साहित्यका अनुरागीहरूले लेखिका कार्कीको लेखन सीपको प्रशंसा गर्दै अरुले पनि लेखन कार्यलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखेका थिए । रुकुमेली वाङ्मय अधिष्ठानकी अध्यक्ष भूपेन्द्रा मल्ल, मीनबहादुर पुन, विमला रोका, हस्तबहादुर केसीलगायतले शुभकामना दिए । लेखिका कार्कीको ‘क्यानभास जिन्दगी’ चौथो कृति हो । लामो समय शिक्षण पेशामा आवद्ध कार्कीले यसअघि ‘जीवनका छालहरू’ (कवितासङ्ग्रह), ‘आँशु किन झर्छ ?’ (निबन्धसङ्ग्रह), ‘अभिलाषा’ (मुक्तकसङ्ग्रह) प्रकाशित भइसकेका छन् ।
नयाँ कृति ‘क्यानभास जिन्दगी’ मा उहिले र अहिले, हरिया चुरा, पीडा, आमा, आजका छोरी, ब्राह्मणवाद, विनाशको लक्षणलगायत उत्कृष्ट निबन्धहरू समावेश गरिएका छन् । मौलिक लेखन र उखान टुक्काले भरिएको निबन्ध पढौं पढौं लाग्ने खालको छ ।
रुकुममा जन्मिएकी कार्कीको पछिल्लो समयमा नेपालगन्जमा बसोबास रहँदै आएको छ । ‘क्यानभास जिन्दगी’ लोकार्पण समारोहमा अर्का लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शशीराम कार्कीले लेखेको ‘आरन’ उपन्यासको पनि परिचर्चा गरियो । ‘आरन’ नेपाली समाजमा व्याप्त छुवाछुतविरुद्ध आवाज बुलन्द गर्ने कृति हो । सोही समारोहमा रुकुमका ख्यातीप्राप्त लोककलाकारहरूले विभिन्न साङ्गीतिक प्रस्तृति पनि दिएका थिए ।
‘क्यानभास जिन्दगी’ को लोकापर्ण गरिँदै । तस्विर टुरिजमफेस
