आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालियो
टुरिजमफेस
गण्डकी । पोखरा महानगपालिका-१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।
उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।
महाप्रभुधाम संरक्षण समितिका संरक्षक स्वामी दिनदयालजी महाराजका अनुसार एक सय वर्षभन्दा अघि यहाँ स्वर्गद्वारीबाट हंश महाराजका चेला कपिलदेव महाराजले एक महिनासम्म ठूलो महायज्ञ लगाइएको थियो । उक्त अवसरमा यहाँ अखण्ड हवनसँगै गौदानलगायत विभिन्न किसिमका अनुष्ठानहरू एक साथ गरिएको इतिहास रहेको उनले जानकारी दिए ।
“यहाँ महायज्ञ गरी सिद्धी प्राप्त गरेको स्थान भएकाले यस क्षेत्रको विशिष्ट महत्त्व छ”, स्वामी दिनदयालजीले भने, “यो ठूलो धार्मिक महत्त्वको तीर्थस्थल हो । महाप्रभुधामसँगै यहाँ नजिकै रहेको मणिद्विपले पनि विशिष्ट धार्मिक महत्त्व बोकेको छ ।” पाल्पाका तत्कालीन राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विपको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पहल थालिएको उनले जानकारी दिए ।
