बन्दीपुर भ्रमण वर्ष : पर्यटन प्रवर्द्धनका लागि छैटौँ बन्दीपुर महोत्सव
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर बजार । फाइल तस्वीर : रासस
टुरिजमफेस
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरको प्रचारप्रसार र बन्दीपुर भ्रमण वर्ष २०२५ का अवसरमा यही मङ्सिर १० गतेदेखि २१ गतेसम्म छैटौँ बन्दीपुर महोत्सव आयोजना हुने भएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ समितिको आयोजनामा टुँडिखेलमा महोत्सव सञ्चालन हुनेछ ।‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रव्रद्धनः स्थानीय कला र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको र तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक एवं इकाइ सभापति घनश्याम उपाध्यायले आज बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बन्दीपुर नेपालकै पर्यटकीय गन्तव्यस्थल रहेकाले यसको थप प्रवर्द्धनमा महोत्सवले सहयोग पुग्ने उनले बताए ।
यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरु एवं प्रचुर सम्भावना बोकेका पर्यटकीयस्थलको पहिचान, प्रचारप्रसार गरी बन्दीपुरको आर्थिक उन्नतिमा टेवा पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
महोत्सव दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको र रु पाँच करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको उनले बताए ।
महोत्सवका क्रममा धार्मिक तथा ऐतिहासिक स्थल खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, चामुण्डामाई भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुुन्द सेन दरबार तथा मार्ग, टँुडिखेल, रानीवनको भ्रमण गराइने उनले जानकारी दिए ।
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर बजार । फाइल तस्वीर : रासस
