शालग्राम सङ्ग्रहालयमा पर्यटकको आकर्षण, जहा सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिन्छ
टुरिजमफेस
बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । मानव निर्मित सुरुङभित्र सवा एक लाख शालग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटक बढेका हुन् ।
विशेष गरी मुस्ताङ घुम्नका लागि आएका पर्यटकहरु यहाँ आउने गरेका छन् । पछिल्लो समय औसतमा दैनिक ३०० पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् ।
शालग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । सार्वजनिक बिदाको दिन एक हजारभन्दा बढी पर्यटक आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि स्वामी प्रपन्नचार्यले जानकारी दिए ।
पछिल्लो चार महिनामा मात्रै २५ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालय अवलोकन गरेको उनको भनाइ छ । गत वर्ष झण्डै दुई लाख पर्यटक आएको उनले बताए । सङ्ग्रहालय पाँच वर्षअघि सर्वसाधारणलाई खुला गरिएको थियो ।
त्रिशूल आकारमा सुरुङभित्र रहेको सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ३०० किलो तौलसम्मका शालग्राम छन् ।
ऋषि प्रपन्नचार्यले भने, “नेपालीसहित भारतीय पर्यटकको आकर्षण बढेको छ, सुरुमा खासै पर्यटकको आगमन हुन सकेको थिएन, तर पछिल्लो समय आगन्तुकको सङ्ख्या बढ्दै गएको छ, अहिले सार्वजनिक बिदामा एक हजारभन्दा बढी पर्यटक यहाँ आउँछन्, अरु बेला पनि दुई÷तीन सय आइरहेका छन् ।”
शालग्राम सङ्ग्रहालय क्षेत्रमा श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरलगायतका थुप्रै धार्मिक संरचना निर्माण भएका छन् ।
