कोशी प्रदेशमा ११२ आयोजनाका लागि ठेक्का आह्वान, निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई
sadak
टुरिजमफेस
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२-८३ का लागि स्वीकृत भएको रु ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ ।
ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए । उनले भने, “जग्गाको स्वामित्व नरहेको तथा स्थानीयको विवाद रहेको जस्ता आयोजनाको ठेक्का आह्वान गर्न बाँकी छ । ती आयोजनाको पनि चाँडै ठेक्का आह्वान गरेर प्रक्रिया अगाडि बढाउँछौँ ।”
दश स्थानीय तह रहेको खोटाङमा आव २०८२-८३ का लागि प्रदेश सरकारबाट स्वीकृत भएको रु एक अर्ब बढीका १६४ आयोजना परेका छन् । पूर्वाधार कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा सडक कालोपत्र, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल तथा झोलुङ्गे पुल निर्माण, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायत आयोजना छन् ।
कोशी प्रदेश सरकारबाट स्वीकृत आयोजनामध्ये बहुवर्षीय आयोजनाका लागि प्रस्ताव पेस गर्नुपर्नेमा २४ तथा १० बहुवर्षीय आयोजना चालु अवस्थामा रहेको जनाइएको छ । आव २०८२-८३ का लागि ठेक्का आह्वान गरिएका कतिपय आयोजनामा सम्बन्धित निर्माण कम्पनीसँग सम्झौता गरेर निर्माणको प्रक्रियासमेत अगाडि बढाइएको कार्यालय प्रमुख दाहालले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास कार्यालयले जिल्लामा परेका आयोजनाको ठेक्का समयमै आह्वान गरेपछि निर्माण व्यवसायी पनि खुसी बनेका छन् । गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ वटा आयोजनाका लागि पूर्वाधार कार्यालयले ठेक्का आह्वान गरेपछि निर्माण कम्पनीहरू सम्झौता गर्न भ्याइनभ्याई भएका छन् ।
sadak
