मुस्ताङको घमीमा सामूहिक स्याउखेती
टुरिजमफेस
मुस्ताङ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत छ वर्षदेखि सामूहिक स्याउ खेती गरिएको हो ।
कृषिमा स्थानीय नागरिकको सामूहिक पहुँच स्थापित गर्ने उद्देश्यले विसं २०७६ सालदेखि यहाँको घमी गाउँमा ४९ घरधुरीले घमी सामुदायिक स्याउ फर्म स्थापना गरी सामूहिक स्याउ सुरु गरेका हुन् ।
यसअघि माथिल्लो मुस्ताङमा आंशिक मात्रामा स्याउ खेती गरिने गरिन्थ्यो । पछिल्लो समय जलवायु परिवर्तनका कारण यहाँको जमिनको तापमान वृद्धि भइरहेकाले स्याउ खेतीले विस्तारै माथिल्लो क्षेत्रको उचाइमा वस्ती सार्दै जान थालेको छ । जलवायु परिवर्तनले स्याउ खेतीले उकालो चढ्दै जान थालेको र घमी गाउँमा भविष्यमा स्याउ खेतीको प्रचुर सम्भावना देखिएकाले त्यहाँस्थित घमी गाउँका घरधुरीले सामूहिक स्याउ खेतीलाई प्राथमिकता दिएका हुन् ।
घमी गाउँमा स्थानीय घरधुरीले आफ्नो लालपुर्जावाला जग्गालाई सामुदायिक स्याउ खेती गर्ने गरी करिव ८०० रोपनीभन्दा बढी जग्गामा सामूहिक स्याउ खेती गरिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार गाउँमा जग्गा भएका र जग्गा नभएका भूमिहीन किसानलाई कृषिमा समान पहुँच स्थापित गर्ने गरी घमी सामुदायिक स्याउ फार्म स्थापना गरिएको बताए । फार्ममा १२ हजारभन्दा बढी स्थानीय लोकल जातका स्याउ बिरुवा र ६०० भन्दाबढी उच्च घनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरिएको उनले बताए ।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकमार्ग नजिकै रहेको घमी सामुदायिक स्याउ फार्म ६ वर्षअघि दुई तिहाइ जग्गा खेती हुन नसकी बाँझो छाडिएको थियो । पर्याप्त मात्रामा खेतीयोग्य जग्गा रहेको घमी गाउँमा स्थानीय युवा वैदशिक रोजगारका लागि विदेश जान थालेपछि त्यहाँका खेती योग्य जग्गाजमिन बाँझो रहन पुगेको थियो । कृषि व्यवसायका माध्यमबाट गाउँको आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यसहित यहाँको घमी गाउँमा वृहत रूपमा सामुदायिक घमी स्याउ फार्म सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्टको भनाइ छ ।
