गुरूङ समुदायले किन जनावरका नाममा वर्ष गन्न थाले ?
टुरिजमफेस
काठमाडौं । समय गन्ने संसारभरका आ–आफ्नै तरिका छन् । कतै अंक चल्छन्, कतै तिथि–मिति । तर गुरूङ समुदायमा समय अंकले होइन, जनावरका नामले चिनिन्छ । मुसा, गाई, बाघ, सर्प, घोडा जस्ता १२ जनावर— यी गुरूङहरूको वर्ष गणनाका आधार हुन् ।
यस परम्पराको जरा गुरूङ समुदायको प्राचीन शास्त्र ‘प्येँताँल्हुँताँ’ मा पुगेर टुंगिन्छ । समाजशास्त्री डा. पोलबहादुर गुरूङका अनुसार, गुरूङहरूको समय गणना कुनै धार्मिक आदेश होइन, प्रकृतिसँगको गहिरो सम्बन्ध बाट जन्मिएको ज्ञान हो ।
किम्बदन्ती अनुसार, जंगलमा बस्ने जनावरहरूको एउटा बैठकमा सबैभन्दा पहिले मुसा पुगेको थियो । चालाकी र बुद्धिले अघि बढेको मुसालाई आधार मानेर गुरूङ समुदायले वर्ष गणनाको सुरुआत गरेको विश्वास छ । त्यसैले गुरूङ वर्ग गणनामा मुसा पहिलो स्थानमा छ ।
यो कथा केवल कथा मात्र होइन । यसले गुरूङ समुदायको प्रकृतिवादी दर्शन झल्काउँछ । ढुंगा, माटो, वन, पानी, हावा, जनावर— सबैसँग संवाद गर्दै जीवन चलाउने सोच नै प्येँताँल्हुँताँको मूल आत्मा हो ।
गुरूङहरू पुस १५ लाई वर्ष फेरिने दिन मान्छन् । यही दिन सूर्य उत्तरायण प्रवेश गर्छ, रात सबैभन्दा लामो हुन्छ । यही प्राकृतिक परिवर्तनलाई आधार मानेर उनीहरूले ल्होतुब (वर्ग फेरिने दिन) मनाउँछन्, जसलाई ल्होसारका रूपमा चिनिन्छ । १२ वर्षको एउटा चक्र पूरा भएपछि ‘लकर’ सकिन्छ ।
समय गणनाको यो प्रणाली केवल उमेर थाहा पाउनका लागि होइन, शुभ–अशुभ पहिचान, संस्कार र संस्कृतिको सञ्चालन, प्रकृतिको लय बुझेर जीवन मिलाउन गरिन्छ । गुरूङ समुदायका लागि समय गणना भनेको प्रकृतिसँग तालमेल मिलाउने जीवन दर्शन हो । यही दर्शनले उनीहरूको संस्कृति, संस्कार र पहिचान जोगाइरहेको छ ।
