निर्वाचन शान्तिपूर्ण र भयरहितः जियोक
टुरिजमफेस
काठमाडौं । जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक परिस्थितिमा बिहीबारको प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने संकेत देखिएका आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले विभिन्न जिल्लामा गरेको प्रारम्भिक अनुगमनका आधारमा निष्कर्ष निकालेको छ ।
जियोकले बुधबार साँझसम्म प्राप्त अवलोकन प्रतिवेदनका आधारमा निर्वाचन आयोग, सरकार र सुरक्षा निकायको तयारी विगतका चुनावको तुलनामा अझ व्यवस्थित र प्रभावकारी रहेको जनाएको छ ।
समितिका महासचिव कृष्णमान प्रधानका अनुसार निर्वाचनअघिसम्म केही सामान्य घटना भए पनि मतदान प्रक्रियामा असर पार्ने खालका गम्भीर घटना भने देखिएका छैनन् । उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले सम्पन्न हुने वातावरण बनेको बताए ।
यसपटक निर्वाचन सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ । सुरक्षा संवेदनशीलताको मूल्याङ्कन गर्दै चारवटै सुरक्षा निकायबीच उच्चस्तरीय समन्वय कायम गरिएको छ । कुनै पनि मतदान केन्द्रमा समस्या उत्पन्न भएमा ३० मिनेटभित्रै सुरक्षा टोली पुग्ने गरी ‘क्विक रेस्पोन्स’ व्यवस्था गरिएको जियोकले जनाएको छ ।
त्यसैगरी मोबाइल गस्ती, स्ट्राइकिङ फोर्स, रिजर्भ फोर्स तथा द्रुत उद्धार टोली परिचालन गरिएकाले सुरक्षा व्यवस्था मजबुत देखिएको पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ । मतदाता नामावली व्यवस्थापन, मतपत्र छपाइ र ढुवानी, मतदान केन्द्रको तयारी तथा मतदाता शिक्षा कार्यक्रमका क्षेत्रमा पनि अघिल्ला निर्वाचनको तुलनामा सुधार देखिएको बताइएको छ ।
यद्यपि समग्र अवस्था शान्तिपूर्ण भए पनि केही मतदातामा मनोवैज्ञानिक त्रास भने अझै बाँकी रहेको जियोकले औंल्याएको छ । जेनजी आन्दोलनका क्रममा हराएका हतियार, जेलबाट छुटेका केही कैदीबन्दी, आपराधिक समूहको सक्रियता तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण आंशिक डर देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अघिल्ला चुनावको तुलनामा यसपटक सडकमा दलका झण्डा, ब्यानर र प्रचार सामग्री कम देखिए पनि उम्मेदवारी दर्ताका क्रममा शक्ति प्रदर्शन र प्रचारका बेला चर्को आवाजमा माइक प्रयोग गरिएकोप्रति मतदाताले असन्तुष्टि जनाएको पाइएको छ । केही स्थानमा मौन अवधिमा पनि गोप्य रूपमा घरघरमा पम्पलेट वितरण गरिएको घटनासमेत भेटिएको जियोकले जनाएको छ ।
आचारसंहिता उल्लङ्घनका उजुरीमाथि कारबाही प्रक्रिया सुरु भए पनि ठोस परिणाम भने देखिन बाँकी रहेको समितिको भनाइ छ । विशेषगरी मौन अवधि सुरु भइसकेपछि धनुषामा एक उम्मेदवारको उम्मेदवारी खारेज गरिएको विषयलाई लिएर स्थानीय तहमा असन्तुष्टि देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचन २०८२ को अनुगमनका लागि जियोकले ३६ जिल्लाका २५० स्थानीय तहमा करिब ४ सय तालिमप्राप्त पर्यवेक्षक परिचालन गरेको छ । साथै प्रत्यक्ष निर्वाचनतर्फ महिला उम्मेदवारको संख्या निकै कम रहेको भन्दै समितिले यस विषयमा चिन्ता व्यक्त गरेको छ ।
