काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन सुरक्षालाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा सवारी सञ्चालनमा कडाइ गरिएको छ। उपत्यका ट्राफिक प्रहरीले सवारी पास नभएका सवारी साधनलाई सडकमा चल्न नदिने व्यवस्था लागू गरेको जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै पास प्राप्त सवारीलाई मात्र सञ्चालन गर्न अनुमति दिइएको हो। आचारसंहिता उल्लङ्घन गर्दै सडकमा निस्किएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
यद्यपि अत्यावश्यक सेवामा संलग्न सवारीलाई भने आवागमनमा छुट दिइएको छ। एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई सञ्चालन गर्न दिइएको ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवत–जावत गर्ने यात्रुलाई आवश्यक कारण देखाएमा सहजीकरण गरिएको पनि ट्राफिक प्रहरीको भनाइ छ।
आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान भइरहेको छ। प्रतिनिधिसभाका कुल २७५ सिटमध्ये १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक प्रणालीबाट चयन गरिनेछ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकाय तथा प्रशासनले विभिन्न स्थानमा निगरानी बढाएको छ।