नेपालमा पर्यटन क्षेत्रका चर्का कुरा, तर पर्यटक संख्या घट्दो
टुरिजमफेस
काठमाडौं — सरकारी निकाय, निजी क्षेत्र र सरोकारवालाहरूले नेपालमा पर्यटनको अथाह सम्भावना रहेको दाबी गर्दै आएका छन् । हिमाल, संस्कृति, धर्म, प्रकृति र साहसिक पर्यटनको संगम रहेको देशका रूपमा नेपाललाई विश्वभर चिनाउने प्रयास भइरहे पनि वास्तविक तथ्यांकले भने फरक तस्वीर देखाइरहेको छ । सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ मा नेपालमा कुल १० लाख १५ हजार ३७८ जना विदेशी नागरिक विभिन्न प्रयोजनका लागि भित्रिएका छन् । जबकि सन् २०२४ मा यो संख्या११ लाख ४७ हजारभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा झण्डै एक लाखभन्दा बढी पर्यटक कम भित्रिनुले पर्यटन क्षेत्रको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
सरकारी दाबी र वास्तविकताबीचको दूरी
सरकारले सन् २०२५ लाई पर्यटन पुनरुत्थानको वर्षका रूपमा चित्रण गर्दै अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन बढ्ने दाबी गरेको थियो । तर, तथ्यांकले सरकारको दाबी उल्ट्याइदिएको छ । पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, सेवा सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपालको ब्रान्डिङमा अपेक्षित प्रगति हुन नसक्दा पर्यटक संख्या घटेको पर्यटन क्षेत्रका जानकारहरूको भनाइ छ ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरणलगायत विभिन्न निकाय स्थापना गरिए पनि ती निकायबीच प्रभावकारी समन्वय नहुनु, योजनाको कार्यान्वयन कमजोर हुनु र परिणाममुखी काम नदेखिनु प्रमुख समस्या बनेको सरोकारवालाहरूको गुनासो छ ।
पर्यटकको नाममा गैरआवासीय नेपाली
अध्यागमन तथ्यांकमा देखिएका विदेशी आगन्तुकमध्ये उल्लेख्य संख्या गैरआवासीय नेपाली (एनआरएन) रहेको पाइएको छ । उनीहरू अधिकांश नेपाल घुम्नभन्दा पनि आफन्त भेट्न, पारिवारिक कार्यक्रम तथा पुख्र्यौली सम्पत्ति व्यवस्थापनका लागि आउने गरेका छन् । पर्यटन व्यवसायीहरूका अनुसार यस्ता आगन्तुकलाई शुद्ध अर्थमा ‘पर्यटक’ मान्दा पर्यटन आगमनको वास्तविक अवस्था अझै कमजोर देखिन सक्छ ।
सम्भावना अपार, तर उपयोग कमजोर
प्राकृतिक सौन्दर्य, हिमाली पर्यटन, धार्मिक–सांस्कृतिक सम्पदा र साहसिक गतिविधिको दृष्टिले नेपाल विश्वकै उत्कृष्ट गन्तव्यहरूमध्ये एक मानिन्छ । सगरमाथा क्षेत्र, पोखरा, लुम्बिनी, पशुपतिनाथ, अन्नपूर्ण पदमार्ग, चितवन राष्ट्रिय निकुञ्जजस्ता गन्तव्यले अन्तर्राष्ट्रिय पर्यटकलाई लामो समयदेखि आकर्षित गर्दै आएका छन् ।
तर, सडक, हवाई सेवा, पर्यटक सुरक्षा, सरसफाइ, गाइड सेवा, सूचना प्रणाली र गुणस्तरीय आतिथ्य सेवामा सुधार हुन नसक्दा पर्यटकको बसाइ अवधि र खर्च अपेक्षाअनुसार बढ्न सकेको छैन ।
भिसा प्रणाली र आगमनको अवस्था
अध्यागमन विभागले हाल विदेशी नागरिकका लागि पर्यटक, श्रम, अध्ययन, गैरआवासीय नेपाली, कूटनीतिकलगायत १० प्रकारका भिसा उपलब्ध गराउँदै आएको छ । भिसा प्रणाली सहज भए पनि गन्तव्यस्तरमा सेवा र अनुभव कमजोर हुँदा पुनः नेपाल आउने पर्यटकको संख्या सीमित रहेको व्यवसायीहरूको अनुभव छ ।
पुनरवलोकनको खाँचो
पर्यटन क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार मानिए पनि संस्थागत कमजोरी, दीर्घकालीन रणनीतिको अभाव र प्रचारमुखी भाषणमा सीमित सोचले अपेक्षित परिणाम दिन नसकेको देखिन्छ । विज्ञहरूका अनुसार अब पर्यटन क्षेत्रका सरकारी निकायको संरचना, कार्यक्षमता र प्राथमिकतालाई गम्भीर रूपमा पुनरवलोकन गर्नुपर्ने अवस्था आएको छ ।
पर्यटनलाई केवल सम्भावनाको कथा होइन, व्यवहारिक नीतिमार्फत रोजगारी, आम्दानी र दिगो विकासको आधार बनाउन नसकिए पर्यटनको चर्चा र वास्तविक अवस्था बीचको खाडल अझै फराकिलो हुँदै जाने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।
