विदेशी पर्यटक अब डिजिटल निगरानीमा, सरकारद्वारा ‘अनलाइन ट्र्याकिङ सिस्टम’ औपचारिक सुरुवात
काठमाडौं ।
नेपाल भ्रमणमा आउने विदेशी नागरिकको गतिविधि, बसोबास र सुरक्षालाई व्यवस्थित बनाउने उद्देश्यसहित सरकारले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ कार्यान्वयनमा ल्याएको छ। नयाँ वर्ष २०२६ को पहिलो दिनदेखि लागू भएको यस प्रणालीमार्फत अब पर्यटकको विवरण डिजिटल रूपमा ट्र्याक गरिने भएको हो।
अध्यागमन विभागले सरोकारवाला निकायको उपस्थितिमा प्रणालीको औपचारिक शुभारम्भ गरेको छ। यसअघि गत असोज १ गतेदेखि लागू गर्ने घोषणा गरिएको भए पनि मुलुकको बदलिँदो परिस्थितिका कारण ढिलाइ भएको विभागले जनाएको छ। अन्ततः १ जनवरी २०२६ बाट यसलाई अनिवार्य गरिएको हो।
विभागका अनुसार प्रणाली कार्यान्वयन दुई चरणमा विस्तार गरिँदैछ। पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा यो प्रणाली लागू गरिएको छ। दोस्रो चरणमा भने १ मार्च २०२६ (१७ फागुन २०८२) देखि देशभरका तारे होटल, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल एजेन्सी, मनी एक्स्चेन्ज तथा अन्य सेवा प्रदायक संस्थामा अनिवार्य गरिनेछ।
त्यसपछि सबै प्रकारका होटल, गेस्ट हाउस र विदेशी नागरिकलाई सेवा दिने सार्वजनिक तथा निजी संस्थाहरूलाई पनि प्रणालीमा आबद्ध गराइने अध्यागमन विभागले स्पष्ट पारेको छ। विभागले विदेशी नागरिकलाई सेवा दिने सबै कम्पनी र संस्थालाई प्रणालीमा अनिवार्य दर्ता हुन अनुरोधसमेत गरेको छ।
अध्यागमन विभागका अनुसार यो प्रणाली नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न, सूचनाको सहज पहुँच कायम गर्न, सम्भावित अपराध नियन्त्रण गर्न तथा पर्यटन क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन विकास गरिएको हो।
प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास, आवागमन र गतिविधिको अभिलेख एकीकृत रूपमा रहनेछ। यसले आपतकालीन अवस्था पर्दा खोज, उद्धार र सहायताको प्रक्रिया छिटो र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
यस्तै, सुरक्षा निकाय, पर्यटन व्यवसायी र अन्य सरोकारवाला निकायबीच सूचना आदान–प्रदानलाई सहज बनाउँदै पर्यटन क्षेत्रको दीर्घकालीन र सुरक्षित विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रणालीमा कसरी आबद्ध हुने भन्ने विषयमा अध्यागमन विभागले आफ्नो वेबसाइटमार्फत विस्तृत जानकारी उपलब्ध गराएको छ।
