पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न कोटगढीको संरक्षण र प्रवर्द्धन गरिदै
टुरिजमफेस
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ ।
आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो ।
गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार कोटगढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणसँगै पर्यटनसँग जोडेर विकास गर्न गाउँपालिकाले विशेष योजना बनाएर काम गरिरहेको छ । “कोटगढी आफैँमा ऐतिहासिक सम्पदा हो”, उनले भने, “स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । पूर्वाधार विकाससँगै प्रचारप्रसारमा ध्यान दिइरहेका छौँ ।”
यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप मजबुत बनाउने उद्देश्यले सङ्घीय सांसद लक्ष्मी राईको संसद् विकास कोषबाट प्राप्त रु एक लाख सहयोगमा कोटगढी परिसरमा मन्दिर निर्माण गरिएको छ । पदमार्ग र मन्दिर निर्माणपछि आन्तरिक पर्यटक, धार्मिक श्रद्धालु तथा इतिहास प्रेमीहरूको आवागमनमा उल्लेख्य वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।
