प्रकृतिबाट समृद्धिको खोजी : आमपानी झरना क्षेत्र व्यवस्थित गरिएपछि पर्यटकको चहलपहल, स्थानीयले पाए रोजगारी
टुरिजमफेस
कैलाली । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको फेदमा एउटा मनमोहक दृश्य देखिन्छ, आमपानी झरना । मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना, केही वर्षअघि ओझेलमा जस्तै थियो तर कोरोना महामारीको समयमा मानिस एकान्त र प्रकृतिको साथ खोज्न थालेसँगै यो झरना चर्चामा आयो ।
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत रु ४० लाखको लागतमा यो क्षेत्र व्यवस्थित गरिएपछि पर्यटकको चहलपहल बढेको बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही बताउँछन् । वन संरक्षण केबल रुख जोगाउनु मात्र होइन, हराउँदै गएका प्राकृतिक सम्पदालाई पुनर्जीवित गर्नु पनि हो भन्ने उदाहरण भजनी–२ स्थित लोहटीवा ताल बनेको छ ।
अतिक्रमणमा परेको यो ताल २०६२ सालमा राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा पुनःनिर्माण गरिएको हो । सो क्षेत्रमा थारू सङ्ग्रहालय पनि निर्माण भइरहेको छ । अहिले त्यहाँ डुङ्गा सयर, वनभोज र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक पुग्ने गरेको थारू सङ्ग्रहालय तथा पार्क वनभोजस्थलका कोषाध्यक्ष अर्जुन सोबले बताए ।
पर्या–पर्यटनको दृष्टिकोणले कैलालीको घोडाघोडी ताल निकै महत्वपूर्ण मानिन्छ । नेपालकै पहिलो ‘वर्ड सेञ्चुरी’ का रूपमा घोषित यो क्षेत्र जैविक विविधताको महत्वपूर्ण क्षेत्र हो । दुर्लभ चराचुरुङ्गी, माछा र पुतलीको बासस्थान रहेको यो क्षेत्रले अहिले स्थानीयको जीवनस्तर नै बद्लिदिएको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाह यहाँ देशविदेशका पर्यटक घुम्नका लागि आउने गरेको बताए ।
उता कञ्चनपुरमा रहेको शोभाताल पनि पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । विसं २०६१ देखि बेलौरी नगरपालिका–५ मा रहेको मुक्त कमैया समुदायले संरक्षण गर्दै आएको ताललाई बेलौरी नगरपालिकाले थप व्यवस्थापन गरेपछि यहाँ पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वनभोज खान, डुङ्गा सयर गर्न यहाँ पर्यटक आउने गरेको शोभाताल संरक्षण समितिका सचिव गणेश चौधरी बताउँछन् ।
पछिल्लो समय कैलाली र कञ्चनपुर पर्या–पर्यटनको महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुँदै गएका यी केही उदाहरणहरु हुन् । कैलालीमा कर्णाली चिसापानी, राजकाँडा, केबलकार निर्माण, ऐतिहासिक टीकापुर पार्क, लम्कीको आँमपानी झरना, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल र वर्ड सेञ्चुरी प्रमुख आकर्षण हुन् । भजनीको लोटिहवा ताल, वसन्ता जैविक मार्ग वरपरका वन क्षेत्र, गौरीगङ्गाको जोगनीया ताल र धार्मिक आस्थाको केन्द्र बेहडाबाबा पनि यहाँका सम्भावनायुक्त गन्तव्यहरू हुन् ।
धनगढी उपमहानगरभित्र जोखर ताल, देवहरिया वनस्पति उद्यान तथा चुरेको काखमा रहेका गोदावरी, बूढीतोला र खानीडाँडाले पर्यटनलाई नयाँ उचाइ दिएका छन् । विशेषगरी चुरे गाउँपालिकाको ऐतिहासिक ‘गर्भा दरबार’ र त्यसतर्फ जाने पदमार्गले इतिहास र प्रकृतिलाई जोडेको छ । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाँदनी तथा कञ्चनपुरको वेदकोट, शोभा, झिलमिला, बन्धा ताल र लिङ्गा वन क्षेत्रमा अवस्थित छन्, जहाँ स्थानीय समुदायले वन संरक्षणसँगै आयआर्जन जोड्ने प्रयास गरिरहेका छन् ।
पर्या–पर्यटनले सिर्जना गरेको रोजगारी
पर्या–पर्यटनको यो लहर स्थानीयको रोजगारीका साथै जीविकोपार्जनको आधार बन्दै गएको छ । पर्यटकीय क्षेत्रमा अहिले फोटोग्राफी, घोड सवार र होटेल व्यवसाय फस्टाउँदै गएको छ । अहिले आफ्नै गाउँमा युवा स्वरोजगार बन्दै गएका छन् ।
घोडाघोडीमा घोडा चढाएर पर्यटक घुमाउने वसन्तकुमार शाही भन्छन्, “दैनिक एक हजार २०० रुपैयाँ आम्दानी हुन्छ ।” घोडाघोडी घुम्न आउने पर्यटकको तस्बिर खिचेर करिब २० जना युवायुवती स्वरोजगार बनेका छन् । डोटीको केआइसिंह गाउँपालिकाका दीपक उपाध्याय भन्छन्, “फोटो खिचेरै दैनिक दुई हजारदेखि दुई हजार ५०० सम्म कमाइ हुन्छ, विदेश जानु परेको छैन ।”
घोडाघोडी क्षेत्रमा करिब ३० वटा खाजा–नास्ता होटेल सञ्चालनमा छन् घुमघामपछि पर्यटकले खाजा–नास्ता खाने भएकाले स्थानीयले होटेल व्यवसायबाट आम्दानी गर्दै आएका छन् । लवाङ्गी पूजा, माघी, नयाँ वर्ष, चाडपर्व र बिदामा पर्यटक बढ्ने हुँदा आम्दानी पनि बढ्ने गरेको होटेल व्यवसायी अनिता क्षेत्री बताउँछन् । उनका अनुसार यस्तो समयमा दिनको करिब दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।
होटेल व्यवसाय मात्र होइन, घोडाघोडी नजिकैको माघी होमस्टेसम्म पनि पर्यटक पुग्ने गरेका छन् । घोडाघोडी घुम्न आउने पर्यटक माघी होमस्टे पुग्ने हुँदा होमस्टेमार्फत आम्दानी भइरहेको माघी होमस्टेका अध्यक्ष सीताराम चौधरीले बताए । उता कञ्चनपुरको शोभाताल व्यवस्थापन गर्दा स्थानीय समुदायले रोजगारी पाएको बेलौरी–५ का वडा सदस्य कृपा चौधरी भन्छन् । उनी भनछन्, “मुक्त कमैया शिविरका १० भन्दाबढी फोटोग्राफर छन्, कतिपयले पसल राखेर व्यवसाय पनि गरिरहेका छन् ।
