स्वर्गद्वारी : आस्थासँगै प्रकृति, संस्कृति र शान्तिको पर्यटन गन्तव्य
प्युठान । हिमाल, हरियाली र शान्त वातावरणको संगम खोज्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि स्वर्गद्वारी अब केवल तीर्थस्थल मात्र होइन, एक विशिष्ट धार्मिक–प्राकृतिक पर्यटन गन्तव्यका रूपमा उभिँदै गएको छ। लुम्बिनी प्रदेशको पहाडी भेगमा अवस्थित यो स्थलले अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणी अनुभव गराउँछ।
धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाको मनोरम दृश्य, घना वन, चिसो बतास र शान्त वातावरणले स्वर्गद्वारीलाई ‘हिल–स्पिरिचुअल टुरिज्म’का लागि आकर्षक बनाएको छ। विशेषगरी बिहान र साँझको समयमा हिमालमा पर्ने घामका किरणले पर्यटकलाई फोटो पर्यटन (फोटो टुरिज्म) का लागि समेत लोभ्याउने गर्छ।
धार्मिक पर्यटनको बलियो आधार
नेपालका प्रमुख धार्मिक गन्तव्यहरूमध्ये गनिने स्वर्गद्वारीमा हरेक वर्ष करिब तीन लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन्। आश्रम व्यवस्थापनका अनुसार यहाँ आउने आगन्तुकमध्ये ठूलो हिस्सा भारतीय तीर्थयात्रीको छ, जसले यस क्षेत्रलाई सीमापार धार्मिक पर्यटनको केन्द्रसमेत बनाएको छ।
सतयुगदेखि निरन्तर जलिरहेको यज्ञकुण्ड, अखण्ड वेदपाठ, यज्ञशाला, पाण्डवसँग जोडिएका ऐतिहासिक स्थल र महाप्रभु हंसानन्द गिरीको तपोभूमिले यहाँको धार्मिक पर्यटनलाई विशिष्ट बनाएको छ। यस्ता सम्पदाले स्वर्गद्वारीलाई ‘लिभिङ हेरिटेज साइट’को रूपमा चिनाउँछन्।
प्रकृति र शान्ति खोज्ने पर्यटकका लागि उपयुक्त
धार्मिक आस्थाबाहेक पछिल्लो समय शान्त वातावरणमा ध्यान, योग र आत्मिक विश्राम खोज्ने पर्यटक पनि स्वर्गद्वारी पुग्न थालेका छन्। सवारी साधनको आवाज कम, मद्यपान–धूमपान निषेध र हरियाली वातावरणका कारण यो स्थल ‘स्पिरिचुअल रिट्रिट’का लागि सम्भावनायुक्त देखिन्छ।
यहाँका वन क्षेत्र, गोवर्धन पहाड र आसपासका पदमार्गहरूलाई व्यवस्थित गर्न सके हाइकिङ र इको–टुरिज्मको सम्भावना पनि उत्तिकै रहेको पर्यटन विज्ञहरूको भनाइ छ।
सांस्कृतिक सम्पदा र गुरुकुल पर्यटन
स्वर्गद्वारी आश्रमले सञ्चालन गरेको गुरुकुल विद्यालयले वैदिक शिक्षासँगै आधुनिक शिक्षा प्रदान गरिरहेको छ। नेपाल र भारतका विभिन्न क्षेत्रबाट आएका विद्यार्थीहरूले यहाँ अध्ययन गर्ने भएकाले यो स्थल शैक्षिक तथा सांस्कृतिक पर्यटनका लागि समेत महत्वपूर्ण बन्न थालेको छ।
वैदिक संस्कार, आयुर्वेद, संस्कृत व्याकरण र धार्मिक अनुष्ठानलाई अवलोकन गर्न चाहने पर्यटकका लागि स्वर्गद्वारी जीवित सांस्कृतिक प्रयोगशाला जस्तै देखिन्छ।
पहुँच, बसोबास र सुविधा
दाङको भालुवाङ–भिंगृ–धरमपानी हुँदै तथा घोराही–होलेरी मार्गबाट स्वर्गद्वारी पुग्न सकिन्छ। सडक र सिँढी निर्माणले पहुँच सहज बन्दै गए पनि पूर्वाधार अझै पर्याप्त छैन। आश्रममा ४ सय जनासम्म अट्ने धर्मशाला, शुद्ध शाकाहारी भोजन र निःशुल्क वाइफाइ सुविधा उपलब्ध छ, जसले तीर्थ–पर्यटकलाई आधारभूत सुविधा प्रदान गरेको छ।
सम्भावना छ, तर व्यवसायीकरण कमजोर
यति ठूलो पर्यटक आगमन हुँदाहुँदै पनि स्वर्गद्वारी वरपर स्थानीय पर्यटन अर्थतन्त्र अझै कमजोर देखिन्छ। स्मरणिका, स्थानीय उत्पादन, होमस्टे, गाइड सेवा र सांस्कृतिक कार्यक्रमको अभावले स्थानीयले अपेक्षित लाभ लिन सकेका छैनन्।
प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्य भन्छन्,
‘स्वर्गद्वारीलाई केही दिन बस्न मिल्ने गन्तव्यका रूपमा विकास गर्न सके धार्मिक पर्यटन मात्र होइन, स्थानीय रोजगारी र आम्दानी पनि बढ्न सक्छ।’
धार्मिक सर्किट विकासको सम्भावना
पर्यटन विज्ञहरू लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–सुपादेउराली–ढोरपाटन–मुक्तिनाथलाई जोड्ने धार्मिक–पर्यटन सर्किट विकास गर्न सके नेपालको पर्यटन नक्सामा स्वर्गद्वारीको स्थान अझ बलियो हुने बताउँछन्।
आस्था, प्रकृति र संस्कृतिको समिश्रण बोकेको स्वर्गद्वारी अब केवल ‘स्वर्ग जाने बाटो’ होइन, नेपालको दिगो धार्मिक पर्यटनको ढोका बन्न सक्ने सम्भावना बोकेर उभिएको छ।
