स्कटल्यान्डसँगको हारले टुट्यो नेपालको विश्वकप सपना
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा स्कटल्यान्डसँग पराजित भएपछि नेपाली महिला क्रिकेट टोलीको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ। त्रिवि क्रिकेट मैदानमा भएको निर्णायक खेलमा नेपाल ७२ रनले पराजित भयो।
स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ९ विकेट गुमाउँदै ६८ रनमा समेटियो। कप्तान इन्दु बर्मा ५ बलमा ५ रन बनाएर रिटायर्ड आउट भएपछि पुनः ब्याटिङमा फर्किन नसक्दा टोली अलआउट हुन पुग्यो।
ग्लोबल छनोटमा पहिलोपटक सहभागिता जनाएको नेपालले समूह चरणका चार खेलमध्ये एकमा जित र तीनमा हार भोग्दै २ अंकसहित समूह ‘बी’को चौथो स्थानमा रह्यो। नेपालसँगै जिम्बाब्वे पनि समूह चरणबाटै बाहिरिएको छ।
नेपालको हारसँगै थाइल्यान्ड एक खेल बाँकी हुँदै सुपर सिक्समा प्रवेश गर्न सफल भएको छ। समूह ‘बी’बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् भने समूह ‘ए’बाट बंगलादेश, आयरल्यान्ड र अमेरिकाले स्थान सुरक्षित गरेका छन्। पपुवा न्युगिनी र नामिबिया भने प्रतियोगिताबाट बाहिरिएका छन्।
नेपालका लागि ब्याटिङमा रोमा थापा १४ रनमा अविजित रहिन्। ओपनर बिन्दु रावलले १४, रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरहरूले उल्लेख्य योगदान दिन सकेनन्।
त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा १४० रनमै अलआउट गरेको थियो। नेपालका लागि मनीषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन्। ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले पहिलो ओभरमै दुई विकेट लिँदै नेपाललाई बलियो सुरुवात दिलाएकी थिइन्।
रुबिना क्षेत्रीले २ विकेट लिँदा रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट हात पारे।
स्कटल्यान्डतर्फ प्रियानाज चट्टेर्जी ४५ रनमा अविजित रहिन्। एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रनको योगदान दिइन्।
जित्नैपर्ने दबाबमा मैदान उत्रिएको नेपाली टोलीले बलिङमा आशा जगाए पनि ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दा विश्वकप खेल्ने सपना अधुरै रहन पुग्यो।
