हरियो वन र सिमसारको सङ्गम : पर्यटक तान्दै बेतना
बेलबारी । पूर्व–पश्चिम राजमार्ग हुँदै यात्रा गर्ने जो–कोहीले मोरङको बेलबारी क्षेत्रमा आइपुग्दा एकाएक वातावरण फेरिएको अनुभूति गर्छ। सवारीको कोलाहलबाट केही मिटर टाढा पुग्नासाथ हरियो वनले ढाकिएको शान्त भूगोल देखिन्छ — यहीँ अवस्थित छ, पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको बेतना सिमसार।
हिउँदयाम सुरु भएसँगै बेतना सिमसारमा चहलपहल बढेको छ। दैनिक करिब पाँच सयसम्म आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्। खुला आकाश, चिसो पानी, स्वच्छ हावा र सिमसारमा देखिने विभिन्न प्रजातिका चरा, माछा र कछुवाले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय बताउँछन्।
सुनसरीको इटहरी चोकबाट करिब १६ किलोमिटर पूर्वतर्फ राजमार्गसँगै फैलिएको यो सिमसार क्षेत्र दुई प्रजातिका बेत वनस्पतिले घेरिएको छ। यही बेतको जङ्गलका कारण यस क्षेत्रलाई ‘बेतना’ नाम दिइएको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराई बताउँछन्। उनका अनुसार प्राकृतिक बनावट जोगिएकै कारण यहाँ जैविक विविधता अझै जीवन्त छ।
बेतना सिमसार करिब ६५ बिघा क्षेत्रफलमा फैलिएको छ। हिउँद लागेसँगै साइबेरियाबाट आउने पाहुना चराले यहाँको सौन्दर्य थप बढाएको छ। सिमसार क्षेत्रमा २५ भन्दा बढी प्रजातिका दुर्लभ चरासँगै माछा, हरिण, अजिङ्गरलगायत वन्यजन्तु पाइन्छन्। विशेषगरी विश्वमै दुर्लभ मानिने ‘ब्ल्याक सफ्टसेल’ प्रजातिका कछुवा दुई दर्जनभन्दा बढी संख्यामा भेटिनुले यस क्षेत्रको जैविक महत्त्व झनै बढाएको छ।
राजमार्गसँगै जोडिएको हुँदा बेतना सिमसार वनभोज मनाउनेहरूको रोजाइमा समेत पर्न थालेको छ। बेतना सिमसार सामुदायिक वनका सहसचिव राजन प्रसाईंका अनुसार जाडोयाममा यहाँ दैनिक घुइँचो लाग्ने गरेको छ। पर्यटकका लागि पाइडल डुङ्गा सञ्चालनमा ल्याइएको छ भने कोशी प्रदेश सरकारको सहयोगमा करिब २० लाख रुपैयाँको लागतमा पानीको फोहोरा निर्माणको काम अघि बढाइएको छ।
स्थानीय तहले पनि बेतनालाई पूर्वी नेपालको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ। बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार संरक्षण र पर्यटनलाई सँगसँगै अघि बढाउँदै सिमसार क्षेत्रको दीगो विकासमा जोड दिइनेछ।
पछिल्ला वर्षहरूमा बेतना सिमसार जैविक अध्ययनको केन्द्रसमेत बन्दै गएको छ। विभिन्न जीवविज्ञ र अनुसन्धानकर्ता यहाँको वनस्पति र जीवजन्तु अध्ययनका लागि आउने गरेका छन्। “पर्यटनसँगै संरक्षण हाम्रो मुख्य प्राथमिकता हो,” अध्यक्ष भट्टराई भन्छन्, “प्रकृति जोगिए मात्र यहाँको आकर्षण दीर्घकालसम्म रहन्छ।”
हरियो वन, शान्त वातावरण र जैविक विविधताको अनुपम सङ्गम बनेको बेतना सिमसार अहिले केवल घुमफिरको गन्तव्य मात्र होइन, प्रकृति नजिक पुग्न चाहने पर्यटकका लागि एउटा अनुभव बन्दै गएको छ।
