गोरखाको प्रसिद्ध धार्मिक गन्तव्य मनकामना मन्दिर नजिक सोल्टी होटल्स एन्ड रिसोर्ट्स
काठमाडौं । नेपालको अग्रणी आतिथ्य समूह सोल्टी होटल्स एन्ड रिसोर्ट्स ले गोरखाको प्रसिद्ध धार्मिक गन्तव्य मनकामना मन्दिर नजिक अत्याधुनिक सुविधा सम्पन्न नयाँ लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ।
करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ५१ वटा सुविधासम्पन्न पाहुना कोठा रहेका छन्। तीन हजार दुई सय वर्गमिटर क्षमताको भव्य ब्यांक्वेट हल, ५५ वर्गमिटरको बैठक कक्ष, स्विमिङ पुल, बहुउद्देश्यीय रेस्टुरेन्ट, लबी बार, टेरेस र हरियाली बगैँचालगायत पूर्वाधार यहाँ उपलब्ध छन्।
‘होटल सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामना’ नाम दिइएको यो परियोजनाको स्वामित्व मनकामना रिट्रिट रिसोर्ट्स एन्ड स्पा प्रालिको रहे पनि यसको व्यवस्थापन र सञ्चालन सोल्टी समूहले गर्नेछ। सोल्टी ब्रान्डअन्तर्गत सञ्चालनमा आएको यो रिसोर्ट कम्पनीको विस्तार रणनीतिअन्तर्गत थपिएको नयाँ कडी हो।
कम्पनीका अनुसार यस परियोजनाले धार्मिक तथा आध्यात्मिक पर्यटनलाई गुणस्तरीय आवास सेवासँग जोड्दै मनकामनालाई उच्चस्तरीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक, तीर्थयात्री, कर्पोरेट यात्रु, सभा–सम्मेलनका सहभागी र पारिवारिक जमघटका लागि उपयुक्त वातावरण सिर्जना गरिएको बताइएको छ।
रिसोर्टमा फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बालबालिका पूलसहितको स्वीमिङ पूल, बालमैत्री खेल क्षेत्र र जगिङ ट्र्याक जस्ता अतिरिक्त सुविधा पनि समावेश छन्। परम्परागत नेपाली आतिथ्यलाई अन्तर्राष्ट्रिय मापदण्डसँग संयोजन गर्दै आधुनिक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले अघि सारेको छ।
नेपालको स्वदेशी पाँचतारे होटल चेनका रूपमा स्थापित सोल्टी समूहले देशभरका प्रमुख धार्मिक, पर्यटकीय तथा व्यावसायिक गन्तव्यमा आफ्नो उपस्थिति विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्याएको छ। साथै, ‘सोल्टी हेरिटेज क्लब’ नामक लोयल्टी कार्यक्रममार्फत नियमित पाहुनालाई विशेष सेवा र व्यक्तिगत अनुभव प्रदान गर्ने व्यवस्था पनि सञ्चालनमा रहेको कम्पनीले जनाएको छ।
