पर्यटक बोक्ने सवारीले निर्वाचनको दुई दिनअघि अनुमति लिनुपर्ने
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन सवारी सञ्चालनमा विशेष नियन्त्रण लागू हुने भएको छ। पर्यटक आवागमनलाई व्यवस्थित राख्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।
निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन पर्यटक बोक्ने सवारी साधनले कम्तीमा दुई दिनअघि अनुमति लिन अनिवार्य गरिएको छ।
किन आवश्यक पर्यो अनुमति?
निर्वाचनको दिन देशभर सवारी आवागमन आंशिक रूपमा नियन्त्रित रहने भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान भने नियमित रूपमा सञ्चालन हुनेछन्। हवाई मार्गबाट आउने–जाने पर्यटकलाई गन्तव्यसम्म पुर्याउन आवश्यक सवारी साधन सञ्चालन गर्नुपर्ने भएकाले अनुमति प्रणाली लागू गरिएको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा सञ्चालन हुने सवारीका लागि आयोगबाट र अन्य जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्वअनुमति लिनुपर्नेछ।
राजमार्ग र अत्यावश्यक सेवा
कार्यविधिमा राजमार्ग प्रयोग गर्ने सवारी साधनको आवागमनलाई पनि व्यवस्थित गर्ने प्रावधान राखिएको छ। अत्यावश्यक सेवा, कूटनीतिक नियोग, मानवअधिकार आयोगलगायतका सवारी साधन भने प्राथमिकतामा रहनेछन्।
अन्य निजी वा व्यावसायिक सवारी साधनले भने पूर्वस्वीकृति बिना सञ्चालन गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सवारी सञ्चालनमा कडाइ गरिएको आयोगले जनाएको छ। साथै, पर्यटन गतिविधि प्रभावित नहोस् भन्ने ध्यानमा राखेर अनुमति प्रणालीमार्फत सन्तुलन कायम गर्ने प्रयास गरिएको बताइएको छ।
