बाँदर आतङ्क अन्त्यको प्रतिबद्धता खोज्दै जैमिनीका मतदाता
Tourism Face Banner News, NEWS 0
बागलुङ । जैमिनी नगरपालिका क्षेत्रमा चुनावी माहोल तातिएसँगै स्थानीय मतदाताले उम्मेदवारसमक्ष विकासभन्दा पहिले बाँदर नियन्त्रणको ठोस योजना माग गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा गाउँ पुगेका उम्मेदवारहरूलाई मतदाताले स्पष्ट सन्देश दिएका छन्—“बाँदर समस्या समाधान गर्ने प्रतिबद्धता भए मात्र भोट।”
जैमिनी–५ की कुमारी थापाका अनुसार बसाइँसराइका कारण गाउँ बिस्तारै रित्तिँदै जाँदा बाँदर बस्तीमै पस्न थालेका छन्। खेतबारीमा लगाएको अन्नबालीदेखि घरभित्र राखिएका सामग्रीसम्म नष्ट हुन थालेपछि दैनिकी कष्टकर बनेको उनी बताउँछिन्। “विकास नहुँदा मान्छे बजार झरे, अहिले बाँदरका कारण गाउँ छोड्नुपर्ने अवस्था आयो,” थापाले भनिन्, “जो उम्मेदवारले व्यावहारिक योजना ल्याउँछ, उसैलाई साथ दिने हो।”
स्थानीय प्रतीमा पौडेलले बाँदरको गतिविधि पछिल्ला पाँच वर्षयता झनै आक्रामक बनेको बताइन्। उनका अनुसार वनक्षेत्र घट्दै जाँदा बाँदर गाउँमै बस्न थालेका छन् र बालबालिका तथा ज्येष्ठ नागरिक असुरक्षित महसुस गरिरहेका छन्। “घर खाली छोडेर मेलापात जान पनि डर लाग्छ,” उनले भनिन्, “धपाउन खोज्दा उल्टै आक्रमण गर्न आउँछन्।”
बरेङ–१ का तमबहादुर विकले यसपटक किसानका वास्तविक समस्या बुझ्ने उम्मेदवार रोज्ने बताए। “नेताहरू धेरै आए, आश्वासन पनि धेरै सुन्यौं,” उनले भने, “तर हाम्रो मुख्य समस्या समाधान गर्ने स्पष्ट नीति चाहियो।”
स्थानीयवासीका अनुसार बाँदर नियन्त्रणका लागि दीर्घकालीन योजना, वन व्यवस्थापन, वैकल्पिक बासस्थान व्यवस्थापन तथा कृषि सुरक्षाका उपाय आवश्यक छन्। चुनावी नाराभन्दा व्यवहारिक कार्ययोजना प्रस्तुत गर्न नसक्ने उम्मेदवारप्रति मतदाता सशंकित देखिएका छन्।
जैमिनी क्षेत्रमा बाँदर समस्या अहिले प्रमुख चुनावी मुद्दा बनेको छ, जसले ग्रामीण जीवन, कृषि उत्पादन र बसाइँसराइको प्रवृत्तिमा प्रत्यक्ष प्रभाव पारिरहेको स्थानीयको भनाइ छ।
