आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे क्षेत्र
भोजपुर । पूर्वी पहाडको हरियाली काखमा शान्त रूपमा फैलिएको च्याङ्ग्रे पोखरी यतिबेला आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ। पौवादुङमा गाउँपालिका भित्र अवस्थित यो रमणीय क्षेत्र संरक्षण, सौन्दर्यीकरण र पूर्वाधार विकाससँगै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उदाउँदै गएको हो।
पहिले स्थानीयबासीको घुमफिर र धार्मिक आस्थाको केन्द्रमा सीमित रहेको च्याङ्ग्रे पोखरी अहिले व्यवस्थित पर्यटन पूर्वाधारका कारण नयाँ पहिचान बनाउँदैछ। पोखरीको संरक्षणसँगै सञ्चालनमा ल्याइएका दुई साना पानीबोटले यहाँको आकर्षण झनै बढाएको छ। नीलो पानीमा बिस्तारै तैरिँदा वरिपरिको हरियाली डाँडाकाँडा र शान्त वातावरणले जो–कोहीलाई मोहित पार्छ।
गाउँपालिकाले यहाँ ‘पञ्चकन्या स्मृति उद्यान’ निर्माण गरी पार्क, वृक्षरोपण, फलैँचा र विश्रामस्थल जस्ता संरचना थपेपछि परिवारसहित घुम्न आउनेहरूको सङ्ख्या बढेको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी बनाइएका पूर्वाधारले यस क्षेत्रलाई पिकनिक र शैक्षिक अवलोकन स्थलका रूपमा पनि लोकप्रिय बनाइरहेको छ।
पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर को धार्मिक महत्त्वले पनि पर्यटक तानिरहेको छ। विभिन्न पूजाआजा र पर्वमा भक्तजनको जमघट हुने यस मन्दिरको पुनःनिर्माण प्रक्रिया अघि बढाइएकाले धार्मिक पर्यटनको सम्भावना अझ विस्तार हुने अपेक्षा गरिएको छ।
स्थानीय कथनअनुसार परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पानी पिउने र विश्राम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नाम रहन गएको हो। अझ रोचक कुरा त के भने, जुनसुकै खडेरीमा पनि नासुक्ने पानीले यो पोखरीलाई रहस्यमय र विशेष बनाएको स्थानीयवासी बताउँछन्। यही नामबाट आसपासमा ‘च्याङ्ग्रे बजार’ समेत लाग्ने गरेको छ।
स्थानीय सावित्रा फुयालका अनुसार पछिल्ला वर्षमा तस्बिर खिच्न, घुम्न–डुल्न र प्रकृतिको आनन्द लिन आउनेको भीड बढेको छ। राम पुलामी मगर भन्छन्, “संरक्षणपछि यहाँको स्वरूप फेरिएको छ। पहिले शान्त ठाउँ थियो, अहिले व्यवस्थित र आकर्षक बनेको छ।”
गाउँपालिका अध्यक्ष किरण राईले यस क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउने दीर्घकालीन योजना तयार पारिएको छ। प्रचारप्रसार र थप पूर्वाधार विस्तार गर्न सके स्थानीय रोजगारी, साना व्यवसाय र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय कथासँग गाँसिएको च्याङ्ग्रे क्षेत्र अहिले भोजपुरको नयाँ पहिचान बन्दैछ। शान्त वातावरणमा प्रकृतिसँग केही समय बिताउन चाहनेका लागि च्याङ्ग्रे पोखरी एक अनुपम गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
