ट्राभल एजेन्सीको नाममा ठगी
काठमाडौं । ट्राभल एजेन्सी सञ्चालनको आडमा ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘श्रीटेल होलिडेज प्रालि’सँग सम्बद्ध व्यक्तिहरूलाई पक्राउ गरेको हो।
कार्यालयका अनुसार उनीहरूले सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिका लगायत १७५ देशमा घुम्न पाउने भन्दै ‘ट्राभल लट्री’ परेको बहानामा झुक्याएर रकम असुलेका थिए। सस्तो दरमा भ्रमण गराइदिने प्रलोभन देखाएर पैसा लिने र त्यसपछि सम्पर्कविहीन हुने शैली अपनाइएको अनुसन्धानमा खुलेको छ।
एसपी मनोहर भट्टका अनुसार सप्तरीका विवेक रेग्मी सहित सात जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही विदेशी नागरिकसमेत रहेका छन्। पक्राउ परेकाहरूबाट प्रहरीले नगद ७ लाख रुपैयाँ, ल्यापटप, कम्प्युटर तथा विभिन्न कागजात बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ३२८ जना सेवाग्राहीबाट २ करोड ७२ लाखभन्दा बढी रकम ठगी गरिएको देखिएको छ। कम्पनी २०८२ कात्तिक १७ मा दर्ता गरी सञ्चालनमा ल्याइएको थियो र करिब ३० जना कर्मचारी राखिएको बताइएको छ।
ठगी योजनालाई विस्तार गर्न उनीहरूले भाटभटेनी सुपरमार्केट, लबिम मल र सिभिल मल लगायतका भीडभाड हुने स्थानमा स्टल राखेर फाराम भराउने र पछि फोनमार्फत ‘लट्री परेको’ सूचना दिने गरेको खुलेको छ।
हाल पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाउने तयारी भइरहेको छ।
