वेलनेस पर्यटनलाई प्राथमिकता, ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने सरकारी योजना
काठमाडौं । सरकारले नेपालको पर्यटन क्षेत्रलाई नयाँ दिशामा लैजान वेलनेस पर्यटनलाई प्राथमिकतामा राख्दै ‘नेपाल वेलनेस इयर २०२७’ मनाउने योजना सार्वजनिक गरेको छ। योग, ध्यान, पूर्वीय दर्शन र प्राकृतिक चिकित्सालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्य राखिएको छ।
सरकारले आगामी १५ दिनभित्र वेलनेस पर्यटन प्रवर्द्धनसम्बन्धी विशेष रणनीति ल्याउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई वेलनेस हबका रूपमा स्थापित गर्ने उद्देश्यले अन्तरनिकाय समन्वय संयन्त्र समेत गठन गरिने भएको छ। संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा नेपालले प्रस्तावलाई समर्थन गर्ने सदस्य राष्ट्रहरूलाई धन्यवाद दिने कार्यसूची पनि समावेश गरिएको छ।
मन्त्रिपरिषद्ले १३ चैतमा स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनामा पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुरक्षित, आधुनिक र आकर्षक बनाउने योजनालाई उच्च प्राथमिकता दिइएको छ। यसअन्तर्गत हवाई सेवा सुधार, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका कार्यक्रम निश्चित समयसीमासहित कार्यान्वयन गरिनेछ।
कार्ययोजनाले १०० दिनभित्र नयाँ पदमार्गहरूको पहिचान र विस्तार गर्ने लक्ष्य राखेको छ। ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको सम्भाव्यता अध्ययन एक महिनाभित्र पूरा गरी कार्यान्वयन योग्य योजना तयार गरिनेछ। कोशी नदी आसपास (उदयपुर), रामारोशन (अछाम), बडिमालिका (बाजुरा), अपी हिमाल र दोर्दी हिमाल क्षेत्रलाई व्यवस्थित ट्रेकिङ गन्तव्यका रूपमा विकास गर्ने तयारी छ।
पर्यटक सुरक्षालाई सुदृढ बनाउन सार्वजनिक यातायातमा सीसीटीभी र ड्याशक्याम जडान अनिवार्य गर्ने तथा राइड सेयरिङ एपहरूमा ३० दिनभित्र एसओएस बटन राख्ने व्यवस्था गरिनेछ। यसबाट आकस्मिक अवस्थामा सिधै प्रहरीसम्म सूचना पुग्ने र पर्यटकको यात्रा सुरक्षित हुने अपेक्षा गरिएको छ।
पर्यटन क्षेत्रमा लगानी बढाउन एकल विन्दु सेवा केन्द्रलाई प्रभावकारी बनाइने तथा साना–मझौला पर्यटन व्यवसायको संरक्षणका लागि विशेष रणनीति लागू गरिनेछ। ठूला पर्यटन आयोजनाहरूलाई छिटो कार्यान्वयन गर्न मुआब्जा वितरण, रुख कटान लगायतका कानुनी प्रक्रिया पनि सरलीकृत गर्ने सरकारको योजना छ।
सरकारको यो कार्ययोजनाले पर्यटन क्षेत्रमा विविधीकरण ल्याउनुका साथै वेलनेस, ट्रेकिङ, हवाई सेवा र पूर्वाधार विकासमार्फत आर्थिक रूपान्तरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
