गुराँसले राताम्य मुन्दुम पदमार्ग, वसन्तयाममा पर्यटक आकर्षण बढ्दो
भोजपुर । वसन्त ऋतु सुरु भएसँगै भोजपुरस्थित मुन्दुम पदमार्ग क्षेत्रमा गुराँस ढकमक्क फुलेपछि यहाँको पर्यटकीय आकर्षण उल्लेख्य रूपमा बढेको छ। रातो, गुलाबी र सेतो गुराँसले वन–जङ्गल ढाकिँदा पदमार्ग क्षेत्रमा पुग्ने पर्यटकलाई प्राकृतिक सौन्दर्यको अनौठो अनुभव मिलिरहेको छ।
पूर्वी पहाडी क्षेत्रको महत्वपूर्ण पदयात्रा गन्तव्यका रूपमा विकसित हुँदै गएको मुन्दुम पदमार्ग वसन्तयाममा विशेष आकर्षक बन्ने गरेको छ। हरिया जङ्गलमाथि गुराँसको रङ मिसिँदा देखिने दृश्यले आन्तरिक पर्यटक, प्रकृतिप्रेमी र फोटोग्राफरलाई तानिरहेको स्थानीय सरोकारवालाहरू बताउँछन्।
प्राकृतिक सौन्दर्यसँगै मुन्दुम पदमार्ग सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। किराँत समुदायको धार्मिक ग्रन्थ ‘मुन्दुम’सँग जोडिएको यो पदमार्गले स्थानीय संस्कृति, परम्परा, भाषा र जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्ने टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताए।
वसन्तयाम पदयात्राका लागि उपयुक्त समय भएकाले यतिबेला आन्तरिक पर्यटकको चहलपहल बढेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतको भनाइ छ। पर्यटकलाई लक्षित गर्दै चखेवामा चैत ३० देखि वैशाख २ गतेसम्म रैथाने खाना महोत्सव आयोजना गरिएको उनले जानकारी दिए।
मुन्दुम पदमार्गअन्तर्गत टेम्केडाँडा, साल्पा पोखरी, सिलिचुङ र मैयुङडाँडाजस्ता गन्तव्य यतिबेला झन् आकर्षक बनेका छन्। हिमाली दृश्य, धार्मिक महत्व बोकेको साल्पा पोखरी र शान्त वातावरणले पदयात्रुलाई विशेष अनुभव प्रदान गर्ने गरेको छ।
गुराँस फुल्ने याम सुरु भएसँगै स्थानीय होटल र होमस्टे व्यवसायमा पनि चहलपहल बढ्न थालेको छ। पर्यटकको मागअनुसार बसोबास, खाना र मार्गदर्शन सेवा विस्तार गरिँदै आएको व्यवसायीहरूले बताएका छन्।
स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा पदमार्ग चिन्हाङ्कन, विश्रामस्थल निर्माण र सूचना बोर्ड स्थापना जस्ता पूर्वाधार विकासका काम भइरहेका छन्। यसले मुन्दुम पदमार्गलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुगेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्।
प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र साहसिक पदयात्राको संगमका रूपमा मुन्दुम पदमार्ग वसन्तयाममा गुराँसले सजिँदै पूर्वी नेपालको आकर्षक पर्यटन गन्तव्यका रूपमा उदाउँदै गएको छ।
