गोरखामा चौधरी ग्रुपद्वारा लक्जरी हेरिटेज ‘समिट होटल’ निर्माण सुरु
काठमाडौं ।चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटीले गोरखामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन पूर्वाधार विकास गर्ने लक्ष्यसहित ‘समिट होटल’ निर्माणको शिलान्यास गरेको छ। गोरखालाई उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले हेरिटेज शैलीको होटल निर्माण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
काठमाडौं उपत्यकामा स्थापित ऐतिहासिक समिट होटलको अवधारणाबाट प्रेरित यस परियोजनामा आधुनिक सुविधा र नेपाली मौलिकता संयोजन गरिनेछ। सन् १९७८ मा ललितपुरमा स्थापना भएको समिट होटलको विरासतलाई विस्तार गर्दै गोरखामा नयाँ स्वरूपमा लक्जरी रिसोर्ट निर्माण गर्न लागिएको सीजी हस्पिटालिटीले जनाएको छ।
करिब ३० रोपनी क्षेत्रफलमा फैलिने परियोजनामा ३० वटा लक्जरी कोठा रहनेछन्। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको होटलमा अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा उपलब्ध गराइने र प्रति कोठा दर करिब ५०० अमेरिकी डलर आसपास रहने अनुमान गरिएको छ।
ऐतिहासिक गोरखा दरबार नजिकै निर्माण हुन लागेको होटलले विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गर्दै उच्चस्तरीय आवास सेवा प्रदान गर्नेछ। यस परियोजनामार्फत गोरखालाई लक्जरी पर्यटन सर्किटमा जोड्ने र नेपालको इतिहास तथा सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले गोरखाको ऐतिहासिक महत्त्वलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले परियोजना अघि बढाइएको बताए। उनले पर्यटन क्षेत्रमार्फत नेपालको अर्थतन्त्र सुदृढ बनाउन चौधरी ग्रुपले निरन्तर लगानी गर्दै आएको उल्लेख गरे।
होटल निर्माणसँगै गोरखा क्षेत्रमा रोजगारी सिर्जना, स्थानीय उत्पादनको उपयोग, लगानी आकर्षण र क्षेत्रीय आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ। यसले पर्यटनमार्फत समग्र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास गरिएको छ।
यसअघि चौधरी ग्रुपले काठमाडौंको ठमेल क्षेत्रमा अन्तर्राष्ट्रिय ब्रान्ड ‘द रिट्ज–कार्लटन’ होटल निर्माणको शिलान्यास गरिसकेको छ। सीजी हस्पिटालिटी ग्लोबलले हाल विभिन्न अन्तर्राष्ट्रिय होटल ब्रान्डसँग सहकार्य गर्दै १२ देशका १३० भन्दा बढी गन्तव्यमा २३० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको जनाएको छ।
नेपालकै ठूलो व्यापारिक घरानामध्ये एक चौधरी ग्रुपले पछिल्ला वर्षहरूमा पर्यटन, उत्पादन र सेवा क्षेत्रमा लगानी विस्तार गर्दै सरकारको राजस्वमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
