२१औँ फेवा नववर्ष महोत्सव सुरु : पर्यटन, संस्कृति र खानाको प्रवर्द्धनमा जोड
गण्डकी । होटेल सङ्घ पोखराको आयोजनामा आजदेखि पोखराको लेकसाइडमा २१औँ संस्करणको फेवा नववर्ष महोत्सव सुरु भएको छ ।
पर्यटन, संस्कृति र खानालाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ सङ्घले बर्सेनि फेवा नववर्ष महोत्सव गर्दै आएको छ ।
महोत्सव आगामी वैशाख १ गतेसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।
तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो । महोत्सवमा आज साँझ सांस्कृति प्रस्तुति र पञ्चैबाजाको रमाइलो रहने तथा पप कन्सर्टका कार्यक्रम पनि समेटिएकाछन् ।
सोमबार खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।
लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने उनले जानकारी दिए । पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फेवा महोत्सव निरन्तर र स्थायी रुपमा सञ्चालन हुँदै आउनु यसको सफलता भएको बताए । पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महोत्वपूर्ण सहर रहेको भन्दै उनले पर्यटनको राजधानीको उपमा समेत पाउनु पोखराका लागि सकारात्मक पक्ष भएको बताए ।
महोत्सवमा प्रस्तुत कलात्मक झाँकी र प्रस्तुतिले नेपाली एकता झल्किएको उल्लेख गर्दै उहाँले पोखरालाई सुरक्षित र सुन्दर सहरको रूपमा निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीणबहादुर पाण्डेले पोखराले आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा बढी जोड दिनुपर्ने बताए । पोखराका लागि आन्तरिक पर्यटक तथा भारतीय र चिनियाँ पर्यटकले ठूलो योगदान दिन सक्ने उनको भनाइ छ ।
पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा भएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेकाछन् । ईसेवाबाट होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याक हुने अफर पनि ई(सेवाले अगाडि सारेको छ ।
महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि, सहप्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक तथा प्रायोजकहरुमा अन्नपूर्ण केबलकार लि, ई(सेवा, युनाइटेड वाइनरी प्रालि रहेका छन् भने इन्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ ।
महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश छन् ।
