खजुरा उदाउँदैछ फुटबलको नयाँ गन्तव्य, गाउँमै हजारौँ दर्शकको भीड
राँझा । बाँकेको खजुरा गाउँपालिका पछिल्लो समय फुटबलको जीव्त केन्द्रका रूपमा उदाउँदै गएको छ। जहाँ एकातिर नेपालगञ्ज रंगशालामा दर्शकको उपस्थिति घट्दो छ, त्यहीँ खजुराका गाउँ–टोलमा आयोजना हुने फुटबल प्रतियोगिताले हजारौँ दर्शक तान्न सफल भइरहेका छन्।
स्थानीयस्तरमा भइरहेका साना–ठूला प्रतियोगितामा दर्शकको उल्लेख्य सहभागिताले खजुरालाई ‘गाउँस्तरीय फुटबल हब’ को रूपमा स्थापित गर्न थालेको छ। खेलप्रेमीहरू टाढाटाढाबाट समेत स्थानीय मैदानमा पुगेर खेलको मजा लिने गरेका छन्, जसले यहाँ फुटबलप्रतिको मोह दिनप्रतिदिन बढ्दो रहेको देखाउँछ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीका अनुसार खजुरा क्षेत्रमा देखिएको उत्साहले फुटबलको भविष्यप्रति सकारात्मक संकेत दिएको छ। “जहाँ अन्य स्थानमा दर्शक घट्दै छन्, त्यहाँ खजुरामा भने खेलाडी र समर्थक दुवैको सहभागिता बढिरहेको छ,” उनले भने, “यो क्षेत्र प्रतिभा उत्पादनको उर्वर भूमि बन्दै गएको छ।”
खजुरा गाउँपालिकाभित्र वर्षभरजसो विभिन्न स्तरका प्रतियोगिता सञ्चालन हुने गरेका छन्। यसले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर मात्रै होइन, समुदायमा खेल संस्कृति मजबुत बनाउने काम पनि गरिरहेको छ।
यसैबीच, खजुरा–४ डीगाउँमा करिब ६० लाख रुपैयाँको लागतमा ‘एन्टी एरिना प्रथम खजुरा गोल्डकप’ सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक न्यू डाँफे स्पोटर्स क्लब ले जनाएको छ।
क्लबका अध्यक्ष बालाराम खत्रीले पहिलोपटक गाउँमै यति ठूलो स्तरको गोल्डकप आयोजना गर्न पाउँदा उत्साह थपिएको बताए। “स्थानीयवासीको साथ र सहयोगले यो सम्भव भएको हो,” उनले भने, “प्रतियोगितामा करिब ५० हजार दर्शक पुग्ने हाम्रो अपेक्षा छ।”
उनका अनुसार खजुरा क्षेत्रसँगै नेपालगञ्ज र कोहलपुर बाट समेत दर्शकहरू खेल हेर्न आइरहेका छन्। यसले प्रतियोगितालाई क्षेत्रीय आकर्षणको रूपमा स्थापित गरेको छ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले आगामी वर्षदेखि गोल्डकपलाई पालिकाको वार्षिक बजेटमै समावेश गरी निरन्तरता दिने योजना रहेको जानकारी दिए।
स्थानीयस्तरमा देखिएको यो उत्साहले ग्रामीण क्षेत्रमा खेलकुद विकासको सम्भावना उजागर गरेको छ। पूर्वाधार सीमित भए पनि समुदायको सक्रियता र लगावले खजुरालाई फुटबलको उदीयमान केन्द्रका रूपमा चिनाउँदै लगेको छ।
यसरी, दर्शकको घट्दो उपस्थिति झेलिरहेका ठूला रंगशालाहरूका बीच खजुराले भने उल्टो प्रवृत्ति देखाउँदै गाउँमै खेलकुद संस्कृतिलाई पुनर्जीवित गर्ने उदाहरण प्रस्तुत गरेको छ।
