राराताल जाने पदमार्गको पर्यटन प्रवर्द्धन गर्न जुम्ला-रारा अल्ट्रा म्याराथन, एकहजार जना सहभागी हुँदै
जुम्ला । सातौँ संस्करणको जुम्ला- रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।
कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले यही वैशाख २६ गते हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको राराताल जाने पदमार्गको पर्यटन प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथनको आयोजना गरिएको उनले बताए ।
प्रतियोगितामा कूल एक हजार बढी खेलाडी सहभागी हुने भएका छन् । सबैभन्दा लामो जुम्ला- रारा अल्ट्रा म्याराथन ५४ किमि दूरीको दौड प्रतियोगिता १३५ खेलाडीले नाम दर्ता गरेका छन् । यसैगरी पाँच किमि दूरीमा ६५० जना र १० किमितर्फ २०० जना सहभागी हुने कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीको भनाइ छ ।
विशेषगरीज जुम्ला- रारा अल्ट्रा म्याराथन प्रतियोगितामा भारत, फ्रान्स, अमेरिका, बेलायत, नेदरल्याण्ड र इटालीलगायका देशका धावकले नाम दर्ता गरेका छन् । हालसम्म भारत र फ्रान्सका धावक जुम्ला पुगिसकेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धनमा जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताले टेवा पुग्ने अपेक्षा राखिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पौडलले जानकारी दिए । प्रतियोगिताको ५४ किलोमिटर दौड अन्तर्गत स्थानीय धावकका लागि रु तीन हजार र अन्य धावकका लागि रु पाँच हजार शुल्क निर्धारण गरिएको छ । पाँच किलोमिटरतर्फ प्रथम हुनेलाई रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तेस्रोलाई रु दुई हजार पुरस्कार तोकिएको क्लबका अध्यक्ष शाहीको भनाइ छ ।
साथै १० किलोमिटरतर्फ प्रथम हुनेलाई रु १० हजार, दोस्रोलाई रु सात हजार र तेस्रोलाई रु पाँच हजार तथा ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई रु एक लाख, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ५० हजार, चौथो र पाचौँलाई समान रु २०- २० हजार पुरस्कारको व्यवस्थापन गरिएको कर्णाली स्पोर्ट क्लबले जनाएको छ ।
