लुम्बिनीमा ओशो तपोवन विस्तार, वेलनेस पर्यटन प्रवर्द्धनमा जोड
टुरिजमफेस
लुम्बिनी । लुम्बिनीमा ओशो तपोवनले नयाँ ध्यान केन्द्र र आधुनिक सुविधासहितको हल सञ्चालनमा ल्याएको छ। विशेष समारोहबीच उद्घाटन गरिएको उक्त केन्द्रलाई अध्यात्म, ध्यान र वेलनेस पर्यटन प्रवर्द्धनको नयाँ प्रयासका रूपमा हेरिएको छ।
कार्यक्रममा ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण सहित नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरू, विभिन्न देशका अनुयायी र आध्यात्मिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै स्वामी आनन्द अरुणले लुम्बिनीमा ध्यान केन्द्र स्थापना हुनु आफ्नो चार दशकअघिको सपना पूरा भएको बताए। उनले विगतमा दुर्गम र जंगलले घेरिएको लुम्बिनीको स्मरण गर्दै बुद्धको जन्मस्थलले आफूलाई सधैं आध्यात्मिक ऊर्जा दिएको उल्लेख गरे। बुद्धको शिक्षा र ओशो दर्शनलाई जोड्दै उनले लुम्बिनीलाई विश्वस्तरीय ध्यान तथा शान्ति केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
पर्यटनमन्त्री खड्कराज पौडेलले नेपाललाई विश्वस्तरको वेलनेस पर्यटन गन्तव्य बनाउने सरकारको योजना रहेको जानकारी दिए। उनका अनुसार सरकारले सन् २०२७ लाई ‘वेलनेस वर्ष’ का रूपमा मनाउने तयारी गरिरहेको छ। आगामी दशकमा एक करोड पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न यस्ता आध्यात्मिक तथा ध्यान केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले ओशो तपोवनको नयाँ केन्द्रले लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई थप विस्तार गर्ने बताएका छन्। ध्यान, योग, आत्मिक शान्ति र वेलनेस गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो केन्द्र नयाँ आकर्षण बन्ने अपेक्षा गरिएको छ।
