सहज बन्दै नारायणघाट–बुटवल यात्रा, पर्यटनमा नयाँ आशा
बुटवल । वर्षौंदेखि यात्रुका लागि सास्तीको पर्याय बनेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अहिले सहज बन्दै गएको छ। सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै बर्खायाममा समेत आवागमन सहज हुन थालेको छ, जसले पश्चिम नेपालतर्फको पर्यटन गतिविधिमा सकारात्मक प्रभाव देखिन थालेको छ।
यसअघि सामान्य वर्षा हुँदा पनि घण्टौँसम्म सवारी जाम हुने, पहिरोका कारण सडक पटक–पटक अवरुद्ध हुने र यात्रुहरू लामो समय सडकमै अलपत्र पर्नुपर्ने अवस्था थियो। विशेषगरी लुम्बिनी, बर्दिया, बाँके, पोखरा हुँदै पश्चिम नेपाल जाने आन्तरिक तथा विदेशी पर्यटकले निकै सास्ती खेप्दै आएका थिए। अहिले सडकको अधिकांश भाग कालोपत्र भइसकेपछि यात्रा छोटो, सहज र सुरक्षित बन्न थालेको छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा गत वर्ष १ साउन २०८१ देखि ३२ असार २०८२ सम्म ६३ पटक सडक अवरुद्ध भएको थियो। तर यस वर्ष त्यस्तो अवस्था दोहोरिएको छैन। यसले पर्यटक, यातायात व्यवसायी र स्थानीय समुदायमा नयाँ उत्साह थपेको छ।
पर्यटन व्यवसायीहरूका अनुसार सडक सुधारसँगै लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, देवदह, रामग्राम, बर्दिया राष्ट्रिय निकुञ्ज तथा पश्चिम नेपालका अन्य धार्मिक र प्राकृतिक गन्तव्यमा जाने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको छ। लामो जाम र अनिश्चित यात्राका कारण धेरै पर्यटकले सडकमार्गको विकल्प खोज्ने गरेका थिए। अब भने सडक यात्रा थप आकर्षक बन्ने विश्वास गरिएको छ।
नियमित रूपमा यही सडक प्रयोग गर्ने चालक रामु भुसालका अनुसार दाउन्ने पार गर्न पहिले घण्टौँ कुर्नुपर्ने अवस्था थियो। अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको र गन्तव्यमा पुग्ने समय उल्लेख्य रूपमा घटेको उनले बताए।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले दाउन्नेको समस्या समाधानतर्फ उन्मुख भएपछि स्थानीय पर्यटन र अर्थतन्त्रमा सकारात्मक असर देखिन थालेको बताए। उनका अनुसार सहज यातायातले होटल, रेस्टुरेन्ट, स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री तथा अन्य पर्यटनसँग जोडिएका व्यवसायमा पनि लाभ पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपरे पनि यस वर्ष सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज भएको बताए। प्रहरी र आयोजना कार्यालयबीचको समन्वयले पनि यात्रा व्यवस्थापन प्रभावकारी बनेको उनको भनाइ छ।
नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालका अनुसार मुख्य सडकको कालोपत्र तथा कंक्रिट ढलान सम्पन्न भइसकेको छ। हाल पूर्वी खण्डको समग्र भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ भने लेन मार्किङ, साइनबोर्ड, रेलिङ र अन्य सडक सुरक्षा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए।
एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्गको यो महत्त्वपूर्ण खण्ड पूर्ण रूपमा सञ्चालनमा आएपछि पूर्व र पश्चिम नेपालबीचको सडक सम्पर्क थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले केवल यात्राको समय घटाउने मात्र होइन, लुम्बिनीसहित पश्चिम नेपालका प्रमुख पर्यटन गन्तव्यहरूमा पर्यटकको पहुँच सहज बनाउँदै पर्यटन उद्योगलाई पनि नयाँ गति दिने विश्वास गरिएको छ।
