नबिल बैंकले मनायो स्थापनाको ४२औँ वर्ष, ‘बैंकिङ एन्ड बियोन्ड’ रणनीतिमा जोड
काठमाडौं । नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको अवसरमा आगामी दिनमा परम्परागत बैंकिङभन्दा फराकिलो वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
वार्षिकोत्सवका अवसरमा बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अझ सशक्त बनाउँदै ग्राहक, समुदाय र राष्ट्रिय अर्थतन्त्रका लागि समावेशी तथा दिगो वित्तीय प्रणाली निर्माणमा केन्द्रित रहने जनाएको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले पछिल्ला चार दशकमा नेपालको आर्थिक तथा औद्योगिक क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै नबिलले परिवर्तनको पछाडि लाग्ने होइन, त्यसको नेतृत्व गर्दै आएको दाबी गरे।
उनका अनुसार नबिलले आधुनिक बैंकिङको सुरुआत गर्दै डिजिटल सेवाको विस्तारमा अग्रणी भूमिका खेलेको छ। ‘एन बैंक’ एपमार्फत डिजिटल बैंकिङलाई नयाँ उचाइमा पुर्याएको दाबी गर्दै उनले बैंकले निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा उद्योग, लगानी र वित्तीय सेवामा नयाँ सम्भावना सिर्जना गरेको बताए।
चौधरीले अहिले बैंकिङ क्षेत्र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै एआईले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, सेवा प्रवाह र ग्राहक अनुभवलाई नयाँ ढंगले रूपान्तरण गरिरहेको बताए। आगामी रणनीतिमा एआईलाई मुख्य आधार बनाएर अझ स्मार्ट र ग्राहककेन्द्रित सेवा विकास गरिने उनले जानकारी दिए।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालको पहिलो प्रविधिमैत्री निजी बैंकका रूपमा सुरु भएको नबिलको यात्रा ग्राहकको विश्वास र कर्मचारीको समर्पणका कारण निरन्तर विस्तार हुँदै आएको बताए।
उनले बैंकले वित्तीय कारोबारमा मात्र सीमित नभई ग्राहकका योजना, लगानी र सफलतामा दीर्घकालीन साझेदारका रूपमा काम गर्ने लक्ष्य लिएको उल्लेख गरे।
बैंकका अनुसार बदलिँदो प्रविधि, ग्राहकको अपेक्षा र दिगो विकासका आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दिशामा आफ्ना सेवा तथा रणनीतिलाई थप परिष्कृत गरिनेछ।
