सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा
नेपालगञ्ज। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि जडान भएर पनि सञ्चालनमा आउन नसकेको लिक्विड अक्सिजन प्लान्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईका अनुसार २० किलोलिटर क्षमताको उक्त प्लान्टमा हाल १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालन सुरु गरिएको हो। प्लान्ट सञ्चालनमा आएसँगै अस्पताललाई दैनिक अक्सिजन सिलिन्डर ढुवानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ।
उनले अस्पतालले अब आवश्यकताअनुसार अक्सिजन भण्डारण गर्न सक्ने भएकाले उपचार सेवा थप प्रभावकारी र सहज हुने बताए।
अस्पतालले पछिल्लो समय सेवा विस्तारलाई पनि तीव्रता दिएको छ। केमोथेरापी वार्डभित्र छुट्टै फार्मेसी सञ्चालनमा ल्याइएको छ भने रेडियोलोजी र प्रयोगशालासम्बन्धी डायगोनोस्टिक सेवा एउटै भवनबाट उपलब्ध गराउन थालिएको डा. भट्टराईले जानकारी दिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को आर्थिक सहयोगमा अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान गरिएको थियो। आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि प्लान्ट सञ्चालनमा ल्याइएको हो।
यसैबीच, लायन्स क्लबको समन्वयमा बिरामीका आफन्तलाई लक्षित गरी कुरुवाघर (पेशेन्ट अटेन्डेन्ट शेल्टर) सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ।
जनस्तरको धार्मिक तथा सामाजिक अभियानबाट निर्माण भएको यो अस्पताल २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको थियो। यद्यपि, अस्पतालको स्थायी दरबन्दी स्वीकृत हुन नसक्दा हाल अस्थायी, करार तथा ज्यालादारी स्वास्थ्यकर्मीमार्फत सेवा सञ्चालन भइरहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सर रोगीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको यो अस्पताल नेपालगञ्ज बजारबाट करिब १० किलोमिटर पश्चिममा अवस्थित छ। लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अस्पतालको उपचार क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
