सक्कली बिल लिएर नगद पुरस्कार जित्ने अवसर, सरकारले ल्यायो ‘लखपति योजना’
फाइल तस्बिर अर्थ मन्त्रालय
काठमाडौं । उपभोक्तालाई कर प्रणालीमा सक्रिय बनाउन र सक्कली बिल लिने संस्कृतिको विकास गर्न सरकारले नगद पुरस्कारसहितको ‘लखपति योजना’ सञ्चालनमा ल्याएको छ। अब एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली बिल लिने उपभोक्ताले दैनिक र पाक्षिक रूपमा नगद पुरस्कार जित्न सक्नेछन्।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) प्रणालीमा आबद्ध व्यवसायबाट खरिद गरी सक्कली बिल लिने उपभोक्ता यस योजनामा सहभागी हुन योग्य हुनेछन्। सरकारले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले यो योजना कार्यान्वयनमा ल्याएको हो।
कसरी सहभागी हुने ?
योजनामा सहभागी हुन कम्तीमा १०० रुपैयाँभन्दा बढीको सामान वा सेवा खरिद गरेको हुनुपर्नेछ। क्युआर कोड, बैंक कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता स्वतः प्रणालीमा समावेश हुनेछन्।
नगद भुक्तानी गर्ने उपभोक्ताले भने प्राप्त बिलको विवरण—बिल नम्बर, प्यान नम्बर, खरिद मिति र रकम—आन्तरिक राजस्व विभागले उपलब्ध गराउने मोबाइल एप वा वेब पोर्टलमा प्रविष्ट गर्नुपर्नेछ।
कति रकमको पुरस्कार ?
कार्यविधिअनुसार योजनाअन्तर्गत दुई प्रकारका नगद पुरस्कार प्रदान गरिनेछन्। नियमित पुरस्कारअन्तर्गत हरेक दिन एक जना विजेताले एक लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेतालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार रकम भुक्तानी गर्दा प्रचलित कानुनअनुसार २५ प्रतिशत आकस्मिक लाभ कर कट्टा गरिनेछ।
को सहभागी हुन पाउने ?
नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्ने प्राकृतिक व्यक्ति (उपभोक्ता) मात्र योजनामा सहभागी हुन सक्नेछन्। व्यवसायिक प्रयोजनका लागि लिइएका बिल भने मान्य हुने छैनन्।
यस्तै, सरकारी वा सार्वजनिक संस्थाले जारी गरेका बिल, टेलिफोन तथा इन्टरनेट सेवा शुल्क, विद्युत महसुल, हवाई टिकट तथा प्यान नम्बर नभएका व्यक्तिबाट खरिद गरिएका वस्तु वा सेवाका बिल यस योजनामा समावेश गरिने छैनन्।
विजेता कसरी छनोट गरिन्छ ?
आन्तरिक राजस्व विभागले स्वचालित विद्युतीय प्रणालीमार्फत विजेता छनोट गर्ने जनाएको छ। प्रत्येक महिनाको १ र १६ गते नतिजा सार्वजनिक गरिनेछ। महिनाको १ गते अघिल्लो महिनाको दोस्रो पन्ध्र दिनको र १६ गते चालु महिनाको पहिलो पन्ध्र दिनको नतिजा घोषणा हुनेछ।
विजेतालाई एसएमएस वा इमेलमार्फत जानकारी गराइनेछ भने विभागको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि नाम सार्वजनिक गरिनेछ।
पुरस्कार दाबी गर्ने प्रक्रिया
विजेताले घोषणा भएको मितिले १५ दिनभित्र नजिकको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। निवेदनसँगै सक्कली बिल, नागरिकता वा परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण तथा प्यान नम्बर पेश गर्नुपर्ने व्यवस्था छ।
आवश्यक प्रक्रिया पूरा भएपछि विभागले १० दिनभित्र सम्बन्धित व्यक्तिको बैंक खातामा पुरस्कार रकम जम्मा गर्नेछ। तोकिएको समयभित्र पुरस्कार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ।
फाइल तस्बिर अर्थ मन्त्रालय
