धागेछरा झरना : प्राकृतिक आकर्षणले तान्दै आन्तरिक पर्यटक
सल्यान । सल्यानको कालीमाटी गाउँपालिका–३ जुगेनामा रहेको धागेछरा झरना पछिल्ला वर्षमा जिल्लाको उदाउँदो प्राकृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब १०० मिटर अग्लो भीरबाट वर्षभरि अविरल झर्ने झरनाले आन्तरिक पर्यटकको आकर्षण बढाइरहेको छ।
पहाडको काखबाट झर्ने पानी, वरिपरिको हरियाली र शीतल वातावरणले धागेछरा झरनालाई प्रकृतिप्रेमीका लागि विशेष बनाएको छ। मौसम परिवर्तन भए पनि झरनाको बहाव कायम रहने भएकाले गर्मी, वर्षा वा जाडो जुनसुकै समयमा पनि यहाँ पुग्ने पर्यटकले समान रूपमा प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्छन्।
एक समय स्थानीयबाहेक धेरैको पहुँचभन्दा बाहिर रहेको यो झरना अहिले सामाजिक सञ्जाल, भिडियो सामग्री र विभिन्न सञ्चारमाध्यमको प्रचारपछि व्यापक रूपमा चिनिन थालेको छ। बिदाका दिन परिवार, साथीभाइ र घुमघामका पारखीहरूको उपस्थिति उल्लेख्य देखिन थालेको स्थानीय बताउँछन्।
स्थानीय मनोज गिरीका अनुसार सामान्य दिनमा पनि दैनिक करिब ५० जना आन्तरिक पर्यटक झरना अवलोकनका लागि पुग्ने गरेका छन्। पर्यटकको आगमन बढ्दै जाँदा स्थानीय होटल, पसल तथा साना व्यवसायले समेत प्रत्यक्ष लाभ लिन थालेका छन्। यसले गाउँस्तरमा पर्यटनसँग जोडिएका आर्थिक गतिविधिलाई विस्तार गर्ने आधार तयार गरेको स्थानीयको भनाइ छ।
पुग्ने बाटो
धागेछरा झरना सदरमुकाम खलंगाबाट कालीमाटीतर्फ जाने सडकखण्डमै पर्छ। खलंगाबाट करिब ३० मिनेटको सवारी यात्रामै झरनासम्म पुग्न सकिन्छ। कालोपत्रे सडक भएकाले यात्रा सहज छ।
दाङको तुलसीपुरबाट करिब दुई घण्टा तथा सुर्खेतको बोटेचौरबाट पनि करिब दुई घण्टाको यात्रामा झरनासम्म पुग्न सकिन्छ। सडक सुविधा झरनाको नजिकसम्म पुगेकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका पर्यटकलाई भ्रमण गर्न सहज भएको छ।
पर्यटनको सम्भावना
सहज पहुँच, वर्षभरि बग्ने पानी र मनमोहक प्राकृतिक परिवेशका कारण धागेछरा झरना सल्यानको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण आधार बन्दै गएको छ। आवश्यक पूर्वाधार विस्तार, सरसफाइ व्यवस्थापन र प्रभावकारी पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिन सके यो गन्तव्य कर्णाली प्रदेशकै प्रमुख प्राकृतिक आकर्षणमध्ये एकका रूपमा विकास हुने सम्भावना देखिन्छ।
