बर्दियाको बाघले विश्व तान्यो, वन्यजन्तु पर्यटन प्रवर्द्धनमा नयाँ अवसर
काठमाडौं ।नेपालका वन्यजन्तु पर्यटनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज फेरि अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बनेको छ। बीबीसीले निर्माण गरेको वृत्तचित्र ‘टाइगर आइल्यान्डः ए हिडेन वर्ल्ड रिभिल्ड’ ले बर्दियाका बाघको दुर्लभ व्यवहार विश्वसामु प्रस्तुत गरेपछि नेपालको संरक्षण सफलता मात्रै होइन, वन्यजन्तु पर्यटनको सम्भावना पनि थप उजागर भएको हो।
बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका नदी टापु तथा सामुदायिक वनमा छायाङ्कन गरिएको वृत्तचित्रले बाघको प्राकृतिक जीवनशैली, उनीहरूको पारिवारिक व्यवहार र बासस्थानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याएको छ। यसले नेपाललाई बाघ अवलोकनका लागि विश्वकै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने पर्यटन क्षेत्रका जानकारहरूको विश्वास छ।
काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा टुरिजम इन्फो नेपालले आयोजना गरेको विशेष प्रदर्शनमा पर्यटन, संरक्षण र सरकारी क्षेत्रका एक सयभन्दा बढी प्रतिनिधि सहभागी थिए। कार्यक्रममा वक्ताहरूले यस्ता अन्तर्राष्ट्रिय वृत्तचित्रले नेपालको प्राकृतिक सम्पदा र संरक्षण प्रयासलाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा प्रचार गर्ने धारणा व्यक्त गरे।
वृत्तचित्रमा गोमा, माला र जुगिनी नामका पोथी बाघको गतिविधि पछ्याइएको छ। छायाङ्कनका क्रममा पोथी बाघले एकअर्काको बच्चाको हेरचाह गर्ने तथा भाले बाघले समेत बच्चाको सुरक्षामा भूमिका निर्वाह गरेको दुर्लभ दृश्य समेटिएको छ। यी दृश्यले बाघको व्यवहारबारे वैज्ञानिक तथा संरक्षण क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।
बीबीसीको टोलीले सन् २०२२ को अन्त्यदेखि लामो समय बर्दियामा बसेर अध्ययन तथा छायाङ्कन गरेको थियो। ड्रोन, थर्मल क्यामेरा, नाइट–भिजन उपकरण र विस्तृत फिल्ड ट्र्याकिङको प्रयोग गरी बाघका गतिविधि अभिलेख गरिएको वृत्तचित्रमा रातको समयमा बाघले सिकार गरेको दुर्लभ दृश्य पनि समावेश गरिएको छ ।
प्रदर्शनपछि आयोजित छलफलमा बर्दियाका प्रकृति गाइड सुशीला महतरा र मञ्जु महतराले वृत्तचित्र निर्माणका क्रममा बाघको खोज, अनुगमन र ट्र्याकिङका अनुभव सुनाएका थिए। उनीहरूले स्थानीय समुदायको सहभागिता र संरक्षणप्रतिको प्रतिबद्धताले बर्दियालाई सफल वन्यजन्तु पर्यटन गन्तव्य बनाउन सहयोग गरेको बताए।
नेपालले पछिल्ला वर्षहरूमा बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०१० मा १२१ रहेको बाघको संख्या अहिले ४०० नाघेको छ। यही उपलब्धिले नेपाललाई विश्व संरक्षण अभियानको सफल उदाहरण बनाएको भए पनि बढ्दो बाघ संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नयाँ चुनौतीका रूपमा देखिएको छ।
पर्यटन व्यवसायीहरूका अनुसार संरक्षण, स्थानीय समुदायको सहभागिता र जिम्मेवार वन्यजन्तु पर्यटनबीच सन्तुलन कायम गर्न सके बर्दियाले आगामी दिनमा अन्तर्राष्ट्रिय वन्यजन्तु पर्यटन बजारमा अझ सशक्त पहिचान बनाउन सक्नेछ।
