अफ सिजनमै पर्यटकको चासो बढ्यो, आगामी सिजनका बुकिङले पर्यटन क्षेत्रमा नयाँ आशा
काठमाडौं । नेपालमा अहिले अन्तर्राष्ट्रिय पर्यटनको अफ सिजन चलिरहे पनि आगामी पर्यटकीय सिजनका लागि होटल, ट्राभल कम्पनी र ट्रेकिङ एजेन्सीमा उत्साहजनक बुकिङ हुन थालेपछि पर्यटन व्यवसायीहरू आशावादी बनेका छन्। सेप्टेम्बरदेखि नोभेम्बरसम्म रहने मुख्य पर्यटकीय सिजनलाई लक्षित गरी विदेशी पर्यटकको अग्रिम बुकिङ बढ्दै गएको उनीहरूको भनाइ छ।
व्यवसायीहरूका अनुसार कोभिड–१९ महामारीपछि विस्तारै पुनर्जीवित हुँदै आएको पर्यटन उद्योगले यस वर्ष थप गति लिने संकेत देखिएको छ। राजधानीका प्रमुख पाँचतारे होटलहरूमा आगामी सिजनका लागि ७० देखि ८० प्रतिशतसम्म कोठा आरक्षण भइसकेको बताइएको छ।
नेपालले सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक भित्र्याउँदै अहिलेसम्मकै उच्च रेकर्ड बनाएको थियो। महामारीका कारण त्यसपछि पर्यटन उद्योग गम्भीर संकटमा परे पनि पछिल्ला महिनाहरूको तथ्यांकले पुनः पुरानै लयमा फर्किने सम्भावना देखाएको छ।
नेपाल पर्यटनसँग सम्बन्धित तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुलाईसम्म करिब ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७ प्रतिशतले बढी हो। यही गति कायम रहे वर्षको अन्त्यसम्म पर्यटक आगमनले नयाँ कीर्तिमान बनाउन सक्ने अनुमान व्यवसायीहरूले गरेका छन्।
होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्यका अनुसार अहिले नै अक्टोबर र नोभेम्बरका लागि राम्रो बुकिङ आउन थालेको छ। भारतीय र चिनियाँ पर्यटकको संख्या बढ्दै गएको तथा ट्रेकिङ समूहहरूको माग पनि उल्लेख्य रहेकाले यस वर्षको मुख्य सिजन उत्साहजनक हुने अपेक्षा गरिएको उनले बताए।
उनले काठमाडौं–पोखरा लगायतका सडक तथा हवाई पहुँचमा सुधार, अन्तर्राष्ट्रिय होटल ब्रान्डहरूको नेपाल प्रवेश र उच्चस्तरीय आतिथ्य सेवाले गुणस्तरीय पर्यटक आकर्षित गर्न सहयोग पुगिरहेको उल्लेख गरे।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले पनि अग्रिम बुकिङ र पर्यटकको सोधपुछ बढ्नु सकारात्मक संकेत भएको बताए। यद्यपि, पश्चिम एसियामा देखिएको तनावजस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले पर्यटन बजारमा केही असर पार्ने सम्भावना रहेको उनको भनाइ छ।
नाट्टाकी महासचिव युविका भण्डारीले अफ सिजनमै देखिएको बुकिङ वृद्धिले आगामी मुख्य सिजन थप सफल हुने विश्वास व्यक्त गरिन्।
राष्ट्रिय ध्वजावाहक सुदृढ बनाउनुपर्ने सुझाव
नाट्टाका पूर्वअध्यक्ष अच्युत गुरागाईंले पर्यटन उद्योगलाई दिगो रूपमा अघि बढाउन नेपाल एयरलाइन्सलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। पर्याप्त अन्तर्राष्ट्रिय उडान र जहाज अभावका कारण सम्भावित पर्यटक विदेशी वायुसेवा कम्पनीतर्फ आकर्षित हुने गरेको उनको भनाइ छ।
व्यवसायीहरूले भारत, चीन, अमेरिका लगायतका प्रमुख स्रोत बजारसँग थप हवाई सम्पर्क विस्तार गर्नुपर्ने, नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय बजारमा आक्रामक प्रवर्द्धन अभियान सञ्चालन गर्नुपर्ने र सरकारले पर्यटन पूर्वाधारमा थप लगानी गर्नुपर्ने सुझाव दिएका छन्।
ठूलो लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा
होटल व्यवसायी शशिकान्त अग्रवालले नेपालले पर्यटन विकासको लक्ष्य नै सानो बनाएकाले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न नेपालले वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने दीर्घकालीन लक्ष्य तय गर्न सक्ने क्षमता राख्छ।
उनले नेपालका पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी ब्रान्डिङ, आधुनिक बजार प्रवर्द्धन र व्यावसायिक प्रचार रणनीति अपनाउन सके पर्यटन उद्योगले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।
