काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका समस्याग्रस्त कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा बैंकका सीईओ निरजविक्रम शाह, नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्। शाहको स्थायी ठेगाना पनि सोही क्षेत्र रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भई फरार सूचीमा रहेका थिए। पक्राउपछि शुक्रबार नै उनीहरूलाई थप कानुनी प्रक्रिया अघि बढाउन उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासमा उपस्थित गराइएको छ।
यसअघि नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै यसको व्यवस्थापन आफ्नो प्रत्यक्ष निगरानीमा लिएको थियो। राष्ट्र बैंकबाट खटिएका व्यवस्थापन समूहका सदस्य जुगल किशोर कुशहवाले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरी मुद्दा दर्ता गरेको जनाएको छ।
अनुसन्धानको प्रारम्भिक चरणमा उनीहरूलाई पक्राउ नगरी बयान तथा अन्य प्रक्रिया अघि बढाइएको भए पनि अहिले अदालतको प्रक्रियाका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।