जापानी दूतावासद्वारा नेपाल पर्वतारोहण संघ सम्मानित
काठमाडौं । मनास्लु हिमालको पहिलो सफल आरोहणको ७०औँ वर्षगाँठका अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन योगदान पुर्याएको भन्दै नेपाल पर्वतारोहण संघ (एनएमए)लाई नेपालस्थित जापानी राजदूतावासले सम्मान गरेको छ।
जापानी राजदूत माइदा तोरुले काठमाडौंमा आयोजित समारोहमा एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पालाई ‘राजदूत सम्मान’ प्रदान गरेका हुन्।
सम्मान ग्रहण गर्दै अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त सम्मानलाई संघका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै यसले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप उत्साह मिलेको बताए।
उनले मनास्लु आरोहणको ऐतिहासिक विरासतलाई विश्वसामु थप उजागर गर्दै नेपाल र जापानबीचको पर्वतीय पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन संघले आगामी दिनमा पनि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
मनास्लु आरोहणको सात दशक लामो इतिहासलाई स्मरण गर्दै आयोजना गरिएको प्लेटिनम जुब्लीले नेपाल–जापानबीचको पर्वतारोहण सम्बन्धलाई समेत नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्मान समारोहमा नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा सदस्य, पर्वतारोहण व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता थियो।
