ग्यास संकट चर्किएपछि उद्योगमन्त्री यादवले छाडिन् पद
काठमाडौं — लामो समयदेखि समाधान हुन नसकेको खाना पकाउने ग्यासको अभाव, उद्योगी तथा कर्मचारीमाथि लगाइएको आरोप र संसदीय समितिमा दिएको विवादास्पद अभिव्यक्तिका बीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी यादवले आफूले ग्यास आपूर्ति सहज बनाउन प्रयास गरे पनि मन्त्रालयका कर्मचारी र व्यवसायीबाट अपेक्षित सहयोग नपाएको बताएकी थिइन्।
यादव निकट स्रोतका अनुसार उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको दाबी गर्दै मन्त्रालयमा आफूलाई काम गर्न कठिन बनाइएको बताएकी थिइन्। बजारमा पर्याप्त ग्यास रहे पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको उनको भनाइ थियो।
उनको राजीनामा देशभर ग्यासको अभावलाई लिएर उपभोक्ताको असन्तुष्टि बढिरहेका बेला आएको हो। लामो समयदेखि ग्यास नपाउने समस्या कायम रहेपछि सरकार र मन्त्रालयमाथि समस्या समाधान गर्न नसकेको आरोप लाग्दै आएको थियो।
एक दिनअघि उद्योगीमाथि कडा टिप्पणी
यादवको राजीनामाको पृष्ठभूमिमा बुधबार संसदीय समितिमा उनले दिएको अभिव्यक्तिलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास आपूर्तिमा उद्योगी र कर्मचारीबीच मिलेमतो भएको आशंका व्यक्त गरेकी थिइन्। उद्योग क्षेत्रमा सुधार गर्न खोज्दा आफू विभिन्न पक्षको विरोधमा परेको उनको भनाइ थियो।
ग्यासको आपूर्ति सहज बनाउन उद्योगीलाई कडा दबाब आवश्यक रहेको बताउँदै उनले उद्योगीहरूलाई नियन्त्रणमा नल्याएसम्म समस्या समाधान नहुने धारणा राखेकी थिइन्।
उनले देशको आवश्यकताका तुलनामा ग्यास उद्योगको संख्या धेरै भएको दाबीसमेत गरेकी थिइन्। आवश्यकताभन्दा बढी रहेका उद्योग हटाउनुपर्ने उनको तर्क थियो।
कर्मचारीतन्त्रप्रति पनि असन्तुष्टि
मन्त्री यादवले मन्त्रालयका कर्मचारीबाट समेत सहयोग नपाएको गुनासो गरेकी थिइन्। आफूले कर्मचारी सरुवा वा जिम्मेवारी परिवर्तनका लागि निर्देशन दिँदासमेत कार्यान्वयन नभएको उनको भनाइ थियो।
बलियो सरकार भए पनि कर्मचारीतन्त्रको असहयोगका कारण आफूले अपेक्षाअनुसार काम गर्न नसकेको उनले बताएकी थिइन्।
यादवले विधेयक निर्माणमा समेत उद्योगीहरूको प्रभाव रहेको आरोप लगाएकी थिइन्।
समितिमै राजीनामाको माग
ग्यास अभाव समाधान गर्न नसकेको विषयमा बुधबारकै बैठकमा मन्त्री यादवमाथि प्रश्न उठेको थियो।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदनकुमार भण्डारीले उपभोक्ताले ग्यास नपाइरहेको अवस्थामा समस्या समाधान गर्न नसके पद छाड्न सुझाव दिएका थिए।
उनले मन्त्रालयले कति समय काम गर्यो भन्नेभन्दा जनताले ग्यास पाए कि पाएनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताएका थिए।
अनुगमन र हटलाइन पनि प्रभावहीन
ग्यास अभाव बढ्दै गएपछि उद्योग मन्त्रालयले समस्या समाधानका लागि हटलाइन सञ्चालन गर्नुका साथै बजार अनुगमनलाई तीव्रता दिएको थियो। मन्त्रीको सचिवालयले विभिन्न होटल तथा बिक्री केन्द्रमा समेत अनुगमन गरेको थियो।
काठमाडौंको र्याडिसन होटलमा गरिएको अनुगमनका क्रममा १८४ वटा ग्यास सिलिन्डर भेटिएको मन्त्रालयले जनाएको थियो। तीमध्ये ११७ वटा नेपाल ग्यास र ६७ वटा एसटिसी ग्यासका सिलिन्डर रहेको बताइएको थियो।
होटलमा ठूलो परिमाणमा सिलिन्डर भेटिएपछि मन्त्रालयको अनुगमनलाई लिएर समेत आलोचना भएको थियो।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयमार्फत उपभोक्ताको नागरिकता हेरेर ग्यास वितरण गर्ने व्यवस्था मिलाइए पनि बजारको अभाव पूर्ण रूपमा हट्न सकेन।
बढ्दो दबाबबीच राजीनामा
ग्यासको समस्या लम्बिँदै जाँदा उपभोक्ताको असन्तुष्टि बढ्दै गएको थियो। सामाजिक सञ्जालमा ग्यास नपाएको गुनासो बढेपछि मन्त्री यादव स्वयंले केही उपभोक्तासँग सम्पर्क गरेर समस्या बुझ्ने प्रयाससमेत गरेकी थिइन्।
तर मन्त्रालयका विभिन्न पहलपछि पनि आपूर्ति सहज हुन नसकेपछि सरकारमाथि दबाब थपियो।
यहीबीच उद्योगी र कर्मचारीमाथि लगाइएको आरोप तथा संसदीय समितिमा मन्त्री यादवले दिएको अभिव्यक्ति विवादमा पर्यो। त्यसको भोलिपल्टै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्।
यससँगै ग्यास आपूर्तिको समस्या समाधान गर्न नसकेको विषयले चर्काएको विवाद मन्त्री यादवको राजीनामासम्म पुगेको छ।
