सिक्टाको गति बढ्यो, पूरा हुन अझै पाँच वर्ष
बाँके — राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्माण सुरु भएको दुई दशक पुग्न लाग्दा पनि पूर्णतामा पुग्न सकेको छैन । हालसम्म आयोजनामा करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने भौतिक निर्माण प्रगति ५१ प्रतिशतमा सीमित छ ।
सरकारले बाँकी पूर्वाधार निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको आयोजना निर्देशक राजु आचार्यले बताए । उनका अनुसार बजेट र जनशक्तिको अभाव नहुने हो भने तोकिएको अवधिभित्र निर्माणका बाँकी काम पूरा गर्न सकिनेछ ।
आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको सिक्टा आयोजनाले राप्ती सोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी बाँकेका ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । अहिले करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ ।
आयोजनाको पश्चिम मूल नहरबाट ३३ हजार ७६६ हेक्टर तथा पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।
पटक–पटक संशोधन, लागत पनि बढ्दै
सिक्टाको निर्माण यात्रा भने प्रारम्भिक योजनाभन्दा निकै लामो भएको छ । विसं २०६४ मा स्वीकृत पहिलो गुरुयोजनाले १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।
पछि थप नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गर्ने गरी पूर्वी मूल नहरलगायत संरचना थपिए । आर्थिक वर्ष २०७१/७२ मा स्वीकृत संशोधित गुरुयोजनाले लागत २५ अर्ब दुई करोड रुपैयाँ पुर्याउँदै आव २०७६/७७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गर्यो ।
तर उक्त समयसीमामा पनि आयोजना पूरा हुन सकेन । पछिल्लो पटक २०७९ मा स्वीकृत गुरुयोजनाले आयोजनाको कुल लागत ५२ अर्ब ८९ करोड रुपैयाँ पुर्याउँदै आर्थिक वर्ष २०८९/९० सम्म सम्पूर्ण काम सक्ने लक्ष्य निर्धारण गरेको छ ।
शाखा नहर निर्माणमा जोड
आयोजनाका सूचना अधिकारी मनोजकुमार साहका अनुसार अहिले शाखा, उपशाखा र प्रशाखा नहर निर्माणलाई प्राथमिकता दिइएको छ । थप निर्माणका लागि ३० वटा बोलपत्रसमेत आह्वान गरिएको छ ।
पश्चिम मूल नहरको करिब ४५ किलोमिटर निर्माण पूरा भइसकेको छ । यसअन्तर्गत सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर निर्माण अन्तिम चरणमा पुगेका छन् भने डुडुवा शाखा नहरको काम जारी छ ।
करिब १६ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको डुडुवा शाखा नहर लामो समयदेखि रोकिएको थियो । ठेकेदार कम्पनी कोस्टल पप्पु जेभीसँगको विवाद र अदालतमा विचाराधीन मुद्दाका कारण काम प्रभावित भएको थियो । गत वर्ष विवाद समाधान भएपछि नयाँ ठेकेदारमार्फत निर्माण पुनः अघि बढाइएको हो ।
पश्चिम मूल नहरअन्तर्गत थप उपशाखा तथा प्रशाखा नहर निर्माणका लागि पनि बोलपत्र आह्वान गरिएको साहले बताए ।
एक वर्षमा ९६ प्रतिशत भौतिक प्रगति
गत आर्थिक वर्ष २०८२/८३ मा सिक्टा आयोजनाका लागि एक अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये करिब ८९ प्रतिशत वित्तीय प्रगति भएको र भौतिक प्रगति ९६ प्रतिशतभन्दा बढी रहेको आयोजना कार्यालयले जनाएको छ ।
सो अवधिमा डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब ९.५ किलोमिटर तथा पश्चिमतर्फका शाखा, उपशाखा र प्रशाखामा नौ किलोमिटर नहर निर्माण भएको छ । पूर्वी नहर प्रणालीमा पनि करिब ९.५ किलोमिटर नहर निर्माण गरिएको छ ।
त्यस्तै, सिँचित क्षेत्र संरक्षणका लागि ७.५ किलोमिटर तटबन्ध निर्माण र ५.५ हेक्टर जग्गा अधिग्रहण गरिएको छ ।
पूर्वी मूल नहर अझै अधुरो
सिक्टा आयोजनाको ५३ किलोमिटर लामो पूर्वी मूल नहर भने अझै पूरा भएको छैन । आयोजनाका अनुसार बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर निर्माण भइसकेको छ । तर नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण रोकिएको छ ।
दुवै मूल नहरसँग जोडिने शाखा, उपशाखा र प्रशाखा नहरको निर्माण पूरा नहुँदा किसानले आवश्यक समयमा पर्याप्त सिँचाइ सुविधा पाउन नसकेको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए ।
उनका अनुसार मुख्य संरचना निर्माण भए पनि खेतसम्म पानी पुर्याउने सहायक नहर प्रणाली पूर्ण रूपमा तयार नहुँदा आयोजनाको अपेक्षित लाभ किसानले अझै लिन सकेका छैनन् ।
