हरितालिका तीजको मुख्य दिन आज, पशुपतिमा दर्शनार्थीको भीड
काठमाडौं — हिन्दू धर्मावलम्बी महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धापूर्वक मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको मुख्य दिन आज महिलाहरू निराहार तथा फलाहार व्रत बसेर भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्दैछन् ।
आइतबारदेखि सुरु भएको तीज पर्वको आज मुख्य दिन हो। धार्मिक मान्यताअनुसार यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।
तीजको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। दर्शनार्थीको चापलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारवटै ढोका खुला राख्दै छुट्टाछुट्टै प्रवेश तथा बाहिरिने मार्ग निर्धारण गरेको छ।
कोषका अनुसार मित्रपार्क, जयवागेश्वरी, सिनामङ्गल–एयरपोर्ट क्षेत्र र पिङ्गलास्थानबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै लाइन तथा प्रवेश मार्गको व्यवस्था गरिएको छ।
मित्रपार्कतर्फबाट आउने दर्शनार्थीलाई उमाकुण्ड, दक्षिणामूर्ति हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गराई उत्तरतर्फको र्याम्पमार्फत दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।
त्यस्तै जयवागेश्वरीबाट आउने भक्तजनका लागि दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै आकासे पुलमार्फत भुवनेश्वरी र नासलचोक हुँदै पशुपतिनाथको पश्चिमतर्फबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
सिनामङ्गल तथा विमानस्थल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरनजिकको ढोका, राममन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट मन्दिरको पूर्वी ढोकासम्म पुग्ने मार्ग तोकिएको छ।
पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि पनि छुट्टै प्रवेश मार्गको व्यवस्था गरिएको छ। उक्त मार्गबाट आउने भक्तजनले चार शिवालय, पञ्चदेवल र चौँसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिणी भागबाट दर्शन गर्ने व्यवस्था छ।
दर्शनार्थीको व्यवस्थापनका लागि मन्दिर बाहिर पाँचवटा लाइन रहनेछन् भने परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिने कोषले जनाएको छ। मूल मन्दिर परिसरमा एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा ठूलो संख्यामा दर्शनार्थी आउने भएकाले सुरक्षा, भीड व्यवस्थापन तथा सहज दर्शनका लागि सुरक्षाकर्मी र स्वयंसेवकसमेत परिचालन गरिएको छ।
