१८ दिनपछि खुल्यो पृथ्वी राजमार्ग, कृष्णभिरमा दुईतर्फी सवारी सञ्चालन
काठमाडौं । बाढीले सडक कटान गरेपछि १८ दिनदेखि प्रभावित पृथ्वी राजमार्गमा आजदेखि दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्।
धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएपछि राजमार्गमा नियमित रूपमा दुवैतर्फका सवारी चल्न थालेका हुन्।
भोटेकोशीमा आएको ठूलो बाढीको चार दिनपछि, भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभिरमा पृथ्वी राजमार्गको सडकखण्ड कटान गरेको थियो। त्यसपछि उक्त मार्गमा यातायात अवरुद्ध भएको थियो।
नयाँ ट्र्याक निर्माणपछि भदौ २८ गते केही हेभी सवारीसाधनलाई परीक्षणका रूपमा पार गराइएको थियो। परीक्षणपछि बाँकी कामलाई तीव्रता दिँदै ट्र्याकलाई यातायात सञ्चालनका लागि तयार पारिएको हो।
धादिङ जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको निर्णयअनुसार आज बिहान ६ बजेदेखि राजमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार कृष्णभिरमा सम्बन्धित निकायहरूको निरन्तर प्रयासपछि नयाँ सडक ट्र्याक तयार भएको हो।
तर राजमार्गमा जोखिम भने पूर्ण रूपमा हटिसकेको छैन। पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा-माटो खस्ने सम्भावना अझै रहेकाले सावधानी अपनाउन प्रशासनले चालक तथा यात्रुलाई आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहानैदेखि कृष्णभिर हुँदै दुवैतर्फ सवारीसाधन आवतजावत गरिरहेका छन्।
राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएसँगै काठमाडौं र धादिङलगायत यस सडकखण्ड हुँदै आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ।
राजमार्ग अवरुद्ध भएपछि ठूला तथा साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गरेर काठमाडौं आउजाउ गर्दै आएका थिए। अब पृथ्वी राजमार्गबाटै नियमित आवतजावत गर्न सकिने भएको छ।
