छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध
फाइल तस्बिर।
हुम्ला । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपनजिक छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा करिडोरमा चल्ने सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन्।
शनिबार खसेको पहिरोले करिब १०० मिटर सडक क्षेत्रमा ढुंगा थुपारेपछि यातायात पूर्णरूपमा प्रभावित भएको हो। सडकमा ठूला ढुंगा रहेकाले सामान्य उपकरण प्रयोग गरेर तत्काल बाटो खुलाउन कठिन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिरोका कारण सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै रोकिएका छन्। उनीहरू सर्केगाडको खडीखेत क्षेत्रमा सडक खुल्ने प्रतीक्षामा छन्।
अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार स्वास्थ्य उपचारका लागि सिमकोटतर्फ हिँडेका नागरिक सडक अवरुद्ध भएपछि समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्थामा छन्।
बुढा आफ्नी श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएका थिए। तर, छारेभिरमा पहिरो खसेपछि उनीहरू पनि बाटोमै रोकिएका छन्।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिए। उनका अनुसार पहिरोले सडकमा ठूला ढुंगा थुपारेकाले सामान्य उपकरणबाट मात्रै अवरोध हटाउन सम्भव छैन।
सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, अन्य स्थानीय तहका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेर आइतबार बिहानैदेखि सडक खुलाउने काम अघि बढाउने तयारी गरिएको गुरागाईँले बताए।
करिब १०० मिटर सडकमा थुप्रिएका ठूला ढुंगा फुटाउनुपर्ने अवस्था रहेकाले सडक खुलाउन समय लाग्न सक्ने प्रशासनको भनाइ छ। दुर्गम क्षेत्रमा आवश्यक उपकरण र जनशक्ति तत्काल जुटाउन कठिन हुने भएकाले काम केही ढिलो हुन सक्ने बताइएको छ।
आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावित रूपमा पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए।
वर्षायाममा बाढी, पहिरो तथा माथिबाट ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ। करिडोर बन्द हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै स्वास्थ्य उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ।
फाइल तस्बिर।
