काँकडभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत पुर्याउने लक्ष्य
भद्रपुर— पूर्वी नेपालको महत्वपूर्ण व्यापारिक मार्ग काँकडभिट्टा–लौकही सडकलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले भइरहेको निर्माणले गति लिएको छ। एसियन हाइवेअन्तर्गत निर्माणाधीन सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भइसकेको छ।
निर्माण सम्झौताको म्याद सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले उक्त अवधिमा सडक निर्माणको प्रगति ९० प्रतिशतसम्म पुर्याउने लक्ष्य लिएको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिले दैनिक ७०० देखि ८०० मिटरसम्म सडक कालोपत्र गर्ने काम भइरहेको छ।
उनका अनुसार बाँकी समयलाई अधिकतम उपयोग गर्दै तोकिएको लक्ष्यअनुसार काम अघि बढाइएको छ।
सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने केही पछाडि रहेको छ। हाल पुल निर्माणको समग्र प्रगति ३१ प्रतिशत पुगेको आयोजना प्रमुख पन्तले जानकारी दिए।
पूर्वी खण्डमा २१ वटा पुल निर्माणाधीन छन्। त्यस्तै, ३०० मिटरभन्दा लामो निन्दा, बिरिङ र कन्काई नदीमाथिका पुलको निर्माणसमेत जारी छ। पश्चिम खण्डतर्फ रतुवा, बक्राहा र लोहन्द्रा नदीमा पुल निर्माणको काम अघि बढिरहेको छ।
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। अहिले सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणलाई समानान्तर रूपमा अगाडि बढाइएको छ।
पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपाने क्षेत्रमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना रहेको छ। चारआलीको जंगल क्षेत्रमा वन्यजन्तु, विशेषगरी हात्तीको आवागमन सहज बनाउन अन्डरपास निर्माण गरिनेछ। पैदलयात्रीको सुरक्षित आवागमनका लागि ६ वटा क्रसिङसमेत निर्माण गर्ने योजना छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा काँकडभिट्टा–लौकही सडकको निर्माण तथा स्तरोन्नतिको काम भइरहेको हो। पूर्वी खण्डको ४५ किलोमिटर लामो काँकडभिट्टा–सितापुरी सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ।
यो सडक निर्माण सम्पन्न भएपछि पूर्वी नेपालको व्यापारिक तथा यातायात सम्पर्कलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्न थप सहज हुने अपेक्षा गरिएको छ।
