टी-२० विश्वकपमा घरेलु टोली अमेरिकाको सानदार विजयी सुरुआत, नेपालले नेदरल्यान्ड्ससँग मंगलबार खेल्दै
अमेरिका । आरोन जोन्सको ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।
१९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए ।
अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरे । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले एकरएक विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।
क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिए ।
अमेरिकाका कोरी एण्डरसन, अली खान र हरम्रीत सिंहले एकरएक विकेट लिए ।
समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अब अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ ।
समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्नेछ ।
