विमान दुर्घटनाको जाँचबुझ गर्न ५ सदस्यीय आयोग गठन
टुरिजमफेस
काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सदस्यहरूमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव छन् ।

आयोगलाई अध्ययन गर्न ४५ दिनको समय दिइएको छ । बुधवार बिहान ११ः११ बजे काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा जहाजका क्याप्टेन मात्र बाचेका छन् । उनको उपचार भइरहेको छ । जहाज नियमित परीक्षणका लागि पोखरा जाँदै थियो र उडान भरेको केही बरेमा दुर्घटनामा परेको थियो ।
