‘विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’
काठमाडौं । सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद निशा डाँगीले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषय ऐनमै समावेश गर्नुपर्नेमा जोड दिइन् ।
उनले निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेकाले पोसाक, पुस्तक र कापी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमा राख्नुपर्ने बताइन् । संशोधनकर्ता अशोककुमार चौधरीले यौन शिक्षासँग सम्बन्धित विषय विद्यालयको तल्लो तहदेखि पाठ्यक्रममा राख्ने गरी विद्यालय शिक्षा ऐन संशोधन गर्नुपर्ने बताए। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको सो विधेयकमाथि एक सय ५२ सांसदले संशोधन हालेका छन् ।
सांसद लेखनाथ दाहालले ऋण लिएर विद्यालयको भवन भव्य बनाउने तर विद्यार्थी र शिक्षक नहुने समस्या ऐनमार्फत समाधान गर्नुपर्ने धारणा राखे । सांसद शिशिर खनालले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी निजी विद्यालय अब्बल हुने गरी ऐन बनाउनुपर्नेमा जोड दिए । सांसद विराजभक्त श्रेष्ठले पुरातन शैलीको शिक्षाभन्दा अहिलेको आधुनिक प्रविधिसँग सुहाउँदो विद्यालय शिक्षा प्रणाली बनाउन माग गरे।
विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरुपता र गुणस्तर कायम गरी विद्यालय सञ्चालनसम्वन्धी विषय व्यवस्थित गर्न तथा विद्यालय शिक्षासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो । त्यसैगरी विद्यालय स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारवाही तथा अवकाशका विषयमा एकरुपता ल्याउन पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।रासस
