हेलिकप्टर देब्रेतिर मोडेर फेरि दाहिनेतिर फर्किएको जस्तो देखियोः पर्यटन मन्त्री

टुरिजमफेस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं फर्कन खोज्दा दुर्घटनामा परेको जस्तो देखिएको बताएका छन् । स्थलगत अनुगमनमा जाँदा मौसम खराबीका कारण त्यो हेलिकप्टर यता (काठमाडौं) फर्किन लागेको जस्तो देखिन्थ्यो उनले भने, ‘मौसम बिग्रिएपछि हेलिकप्टर फर्काउन खोजेको देखिन्छ ।’ बुधवार काठमाडौंबाट उडेको ३ मिनेटमा काठमाडौं र नुवाकोटको नाकामा एयर डाइनेस्टीको हेलिकप्टर खस्दा चालकसहित ५ जनाको मृत्यु भएको थियो ।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हेलिकप्टर देब्रेतिर मोडिदा रुख बुट्यानहरू काटिएको र ५÷ ६ मिटर तल फेरि दाहिनेतिर पनि रुखहरू काटिएको फेला परेको जानकारी दिए । हेलिकप्टर स्याफ्रुबेसीमा रहेका अमेरिकी नागरिकलाई लिन जाँदै गरेको थियो भने त्यसमा चार जना चिनियाँ नागरिक थिए । गत वर्ष पोखरामा यती एअरलाइन्स र केही दिनअघि काठमाडौमा सौर्य एअरलाइन्सको जहाज दुर्घटनापछि पर्यटन व्यवसायीले सुरक्षामा ध्यान दिन र किन यस्तो भइरहेको छ भनेर गम्भीर रूपमा अध्ययन गर्न सरकारसँग आग्रह गरिरहेका छन् । पटकपटक हवाई दुर्घटना हुने क्रम नरोकिएपछि यूरोपियन युनियनने नेपाललाई कालोसूचीबाट हटाएको छैन ।