पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्दा हवाई इन्धनमा प्रतिकिलोलिटर १०० डलर छुट

काठमाडौं। सरकारले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट अन्तर्राष्ट्रिय हवाई उडान भर्ने विमानहरुलाई हवाई इन्धनमा विशेष छुट दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिले बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडान भर्ने वायु सेवा कम्पनीलाई तोकिएको मूल्यमा प्रतिकिलोलिटर १०० डलर छुट दिने निर्णय गरेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्तिसचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष मधुसूदन बुर्लाकोटीका अनुसार दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण बनाउन प्रधामनन्त्रीबाट भएको निर्देशनअनुसार पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने विमानले प्रयोग गर्ने इन्धनमा सहुलियत दिने निर्णय भएको हो । यो निर्णयबाट पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान वृद्धिमा सहयोग पुग्ने सरकारको अपेक्षा छ ।
यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य पोखरा र भैरहवामा ९४२ डलरमा झर्ने छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि भने १०४२ डलर नै पर्नेछ ।